काठमाडौ । राज्यको विभेद र भौगोलिक रूपमा दशकौँदेखि पछाडि पारिएको कर्णालीको मुगुबाट हजारौँ सपना बोकेर राजधानी आएका युवा गणेश नेपालीको दुःखद निधनप्रति उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले गहिरो दुःख व्यक्त गरेका छन्।
घिसिङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै राइड सेयरिङ गरेर आफ्नो र परिवारको जीविकोपार्जन गर्दै संघर्षरत एक युवा राज्यका नीति, प्रशासनिक व्यवहार र परिस्थितिबाट निराश भई आत्मदाहको प्रयास गर्न बाध्य हुनु र अन्ततः ज्यान गुमाउनुपर्ने अवस्था आउनु सम्पूर्ण राष्ट्रका लागि गम्भीर प्रश्न र राष्ट्रिय लज्जाको विषय भएको बताएका छन्।
उनका अनुसार गणेश नेपालीको मृत्यु केवल एक व्यक्तिको मृत्यु नभई राज्यप्रति नागरिकको घट्दो भरोसा र श्रम गरेर सम्मानपूर्वक बाँच्न खोज्ने नागरिकमाथि राज्यको संवेदनशीलतामाथि उठेको गम्भीर प्रश्न हो।
घिसिङले स्वर्गीय गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
उनले गरिब, निमुखा वा दुर्गममा जन्मिनु अपराध नभएको र इमानदारीपूर्वक श्रम गरेर बाँच्न खोज्नु पनि अपराध हुन नसक्ने उल्लेख गरेका छन्। तर पछिल्ला दिनहरूमा राज्यका नीति र व्यवहारले गरिब, श्रमिक तथा सुकुम्बासीलाई झन् बढी हतोत्साहित र विस्थापित गरिरहेको अनुभूति बढ्दै गएको उनको भनाइ छ।
घिसिङले राज्यको पहिलो दायित्व नागरिकलाई सम्मानका साथ बाँच्ने अवसर र आशा दिनु भएको भन्दै अब यस्ता पीडादायी घटना दोहोरिन नदिन संवेदनशील, न्यायपूर्ण र मानवकेन्द्रित नीति अवलम्बन गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, हरेक नागरिकले आफ्नो श्रम, सम्मान र अधिकारसहित बाँच्न पाउने वातावरण निर्माण गर्नु नै साँचो लोकतन्त्रको परिचय हुने उनको धारणा छ।




















Discussion about this post