धरानमा शान्ति सुरक्षा सुदृढ बनाउन प्रहरी सक्रिय, अपराध नियन्त्रण अभियान प्रभावकारी

नवीन सेन्चुरी
धरान, सुनसरी।

ईलाका प्रहरी कार्यालय धरानले प्रहरी उपरीक्षक भीषण बाबु राईको नेतृत्वमा शान्ति सुरक्षा, कानुन कार्यान्वयन तथा अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ विभिन्न सुरक्षा अभियानलाई तीव्रता दिएको जनाएको छ।

प्रहरीका अनुसार धरानलाई सुरक्षित, व्यवस्थित र अपराधमुक्त सहरका रूपमा विकास गर्ने लक्ष्यअनुसार अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, लागुऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रण, फरार प्रतिवादी पक्राउ, सार्वजनिक शान्ति कायम, भीड व्यवस्थापन तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिएको छ। दैनिक सुरक्षा गस्ती, संवेदनशील क्षेत्रको निगरानी तथा सूचना संकलनलाई समेत सुदृढ बनाइएको कार्यालयले जनाएको छ।

नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै सर्वसाधारणका गुनासा तथा समस्यामा छिटो प्रतिक्रिया दिने, कानुनी सहायता आवश्यक परेका नागरिकलाई सहजीकरण गर्ने तथा समुदायसँगको समन्वयलाई अझ प्रभावकारी बनाउने कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ। विद्यालय, संघसंस्था, व्यवसायी तथा स्थानीय समुदायसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सुरक्षित समाज निर्माणमा जोड दिइएको छ।

प्रहरीले विशेष गरी लागुऔषध नियन्त्रण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। कानुन उल्लंघन गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउने अभियानलाई निरन्तर अघि बढाइने पनि कार्यालयले स्पष्ट पारेको छ।

प्रहरी उपरीक्षक भीषण बाबु राईले कानुनको निष्पक्ष कार्यान्वयन, पारदर्शी प्रहरी सेवा तथा नागरिकसँगको विश्वास र सहकार्यलाई थप सुदृढ बनाउँदै धरानलाई शान्त, सुरक्षित र सभ्य सहरका रूपमा स्थापित गर्न सम्पूर्ण प्रहरी संगठन प्रतिबद्ध रहेको बताउनुभयो।

ईलाका प्रहरी कार्यालय धरानले शान्ति सुरक्षा कायम गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै कुनै पनि शंकास्पद गतिविधि वा आपराधिक घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराई सुरक्षित समाज निर्माणमा सहयोग गर्न सम्पूर्ण नागरिकसँग आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित