नबिन सेन्चुरी
जनकपुरधाम। धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–३ अगिलेश्वरमा २३ वर्षीय टिपर चालक अमन यादवमाथि मरणासन्न हुने गरी कुटपिट भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने दुई जना फरार रहेका छन्। गम्भीर घाइते यादवको जनकपुरधामस्थित मधेश अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा लक्ष्मीनियाँ–३ निवासी सूर्यदेव यादव पक्राउ परेका छन्। उनी सपहीस्थित स्वास्थ्य निर्देशनालयमा करार सेवामा कार्यालय सहयोगीका रूपमा कार्यरत छन्। घटनामा संलग्न उनका २५ वर्षीय छोरा शिव यादव र २० वर्षीय छोरा सुबोध यादव भने फरार रहेका छन्। सुबोध पनि स्वास्थ्य निर्देशनालयमै करार सेवामा कार्यरत रहेको खुलेको छ।
डीपीओ सञ्चालक पुण्यप्रताप राउतका अनुसार घटनाको सुरुआत घर अगाडिको सार्वजनिक सडकमा छाडिएका भेडा–बाख्रालाई हटाउन टिपर चालक अमन यादवले हर्न बजाएपछि भएको सामान्य विवादबाट भएको थियो।
राउतका अनुसार सोही राति करिब ९:३० बजे सूर्यदेव यादवले फोनमार्फत धम्की दिएका थिए। आफूले राति आउन अस्वीकार गर्दै भोलिपल्ट बिहान भेट्ने बताएपछि फोन वार्ता सकिएको थियो।
त्यसपछि राउत र अमन यादवले सँगै खाना खाएका थिए। खाना खाइसकेपछि डीपीओतर्फ सुत्न जाँदै गरेका अमन यादवमाथि बाटोमै सूर्यदेव यादव र उनका दुई छोराले निर्घात कुटपिट गरेको आरोप छ। कुटपिटपछि उनलाई नजिकैको नालीमा फालिएको अवस्थामा स्थानीयले फेला पारेका थिए।
पीडितको चिच्याहट सुनेपछि स्थानीयवासी घटनास्थलमा पुगेका थिए। त्यसलगत्तै प्रहरीलाई खबर गरिएको थियो। प्रहरी टोलीले गम्भीर अवस्थामा रहेका अमन यादवको उद्धार गरी जनकपुरधामस्थित मधेश अस्पतालमा भर्ना गरेको जनाएको छ।
प्रहरीले मुख्य आरोपित सूर्यदेव यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। फरार रहेका शिव यादव र सुबोध यादवको खोजी तीव्र पारिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















Discussion about this post