सामाजिक उद्देश्यसहित ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल–२’ को पहिलो अडिसन सम्पन्न (भिडियो सहित)

 

धरान। होप धरानको आयोजनामा सञ्चालित जुनियर मिस्टर एण्ड मिस धरान आइडल सिजन–२ को पहिलो अडिसन सम्पन्न भएको छ। कार्यक्रमका आयोजकले समापन मन्तव्यका क्रममा प्रतियोगिता केवल सौन्दर्य वा प्रतिभा प्रदर्शनमा सीमित नभई सामाजिक सेवासँग जोडिएको अभियान भएको बताएका छन्।

आयोजकले धरान उपमहानगरपालिका शिक्षा समितिका शिक्षा संयोजक धुर्वराज खड्कालाई प्रमुख अतिथिका रूपमा सहभागी भई कार्यक्रमको गरिमा बढाएकोमा धन्यवाद ज्ञापन गरे। साथै निर्णायक मण्डल, विभिन्न सौन्दर्य प्रतियोगिताका उपाधि विजेता, सञ्चारकर्मी, आधिकारिक मिडिया तथा कार्यक्रम व्यवस्थापनमा संलग्न भाइब्स इन्टरटेनमेन्टको टोलीप्रति पनि आभार व्यक्त गरिएको थियो।

आयोजकका अनुसार यस वर्षको प्रतियोगिताबाट प्राप्त हुने मुनाफा धरानका पाँच वटा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री, विद्यालय झोला, जुत्ता तथा आवश्यक सामग्री वितरणमा खर्च गरिनेछ। गत वर्ष सिजन–१ बाट संकलित रकममध्ये रु. १ लाख ५० हजार ब्रेन ट्युमरबाट पीडित पाँच वर्षीय अंकित खड्काको उपचारका लागि सहयोग गरिएको जानकारी पनि दिइयो।

प्रतियोगिताको दर्ता शुल्क अन्य व्यावसायिक प्रतियोगिताको तुलनामा निकै कम राखिएको आयोजकको भनाइ छ। आर्थिक अवस्था कमजोर भए पनि प्रतिभावान बालबालिकाले अवसर पाउन सकून् भन्ने उद्देश्यले शुल्क न्यून राखिएको र चार किस्तासम्ममा तिर्न सकिने व्यवस्था गरिएको जानकारी दिइयो।

प्रतियोगितामा करिब रु. १ लाख ४८ हजार बराबरको नगद पुरस्कार, १२ जना विजेता, सबै सहभागीलाई विभिन्न सब–टाइटल, रु. २ लाख बराबरको बीमा सुविधा, तथा मुख्य विजेता बालक र बालिकालाई सिक्किम भ्रमण प्याकेज प्रदान गरिने आयोजकले बताए।

प्रतियोगितामा सहभागी बालबालिकालाई एक महिनासम्म व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, फोटो तथा भिडियो सुट, डाइनिङ एटिकेट, गुड टच–ब्याड टच, सेल्फ डिफेन्स लगायतका व्यवहारिक प्रशिक्षण प्रदान गरिनेछ।

आयोजकका अनुसार दोस्रो अडिसन साउन १६ गते शनिबार बिहान १० बजे हामकुक सारङ कोरियन रेस्टुरेन्ट, धरानमा हुनेछ। प्रशिक्षण साउन १८ गतेदेखि भदौ १८ गतेसम्म सञ्चालन हुने, भदौ १९ गते रिहर्सल र भदौ २० गते ग्राण्ड फिनाले आयोजना गरिने कार्यक्रम तालिका सार्वजनिक गरिएको छ।

समापनमा आयोजकले अभिभावक, प्रायोजक, सञ्चारमाध्यम तथा सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गर्दै सामाजिक उद्देश्य बोकेको यस अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छन्। साथै प्रतियोगिता धरान उपमहानगरपालिका लगायत सम्बन्धित निकायबाट आवश्यक अनुमति लिएर आधिकारिक रूपमा आयोजना गरिएको पनि स्पष्ट पारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित