धरानको बजेट २ अर्ब ४७ करोड, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता

धरान, साउन २८ । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ। नगर कार्यपालिकाले तयार पारेको बजेट वक्तव्यअनुसार आगामी वर्ष आर्थिक विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, पर्यटन तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।

बजेटको स्रोततर्फ नगरसभाबाट विनियोजन हुने आन्तरिक बजेट १ अर्ब ५२ करोड ६० लाख ५१ हजार रुपैयाँ, सशर्त अनुदानबाट ६३ करोड ९७ लाख ५२ हजार, समपूरक अनुदानबाट १ करोड ५ लाख र विशेष अनुदानबाट ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

उपमहानगरपालिकाले नगर कार्यपालिकातर्फका विभिन्न स्रोतबाट २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार रुपैयाँ विनियोजन गरेको जनाएको छ। वडा कार्यालयतर्फ समेत बजेट विनियोजन गरिएको छ।

बजेट वक्तव्यमा आगामी आर्थिक वर्षका लागि आर्थिक विकास र समृद्धि, स्वच्छ खानेपानीसहितको पूर्वाधार विकास, शिक्षा–स्वास्थ्य तथा सामाजिक विकास, पर्यटन, कृषि र विपद् व्यवस्थापनलाई प्रमुख प्राथमिकता तोकिएको छ।

पूर्वाधारतर्फ शहरी योजना तथा भौतिक पूर्वाधार विकास, सडक, खानेपानी तथा नगरका विभिन्न संरचना निर्माणलाई प्राथमिकता दिइएको छ। खानेपानीतर्फ धरानको खानेपानी आपूर्तिलाई अझ भरपर्दो र विश्वसनीय बनाउन कोशी नदीबाट पानी आपूर्ति गर्ने योजनाको साझेदारीका लागि ३ करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ।

शिक्षा, युवा तथा खेलकुदतर्फ संघ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानसहित सामुदायिक विद्यालयलाई स्कुल बस उपलब्ध गराउने कार्यक्रम समेत राखिएको छ। यसका लागि छुट्टै ५० लाख रुपैयाँ विनियोजन गरिएको उल्लेख छ।

स्वास्थ्यतर्फ संघीय अनुदान तथा नगरको आन्तरिक स्रोतबाट विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि बजेट छुट्याइएको छ। नगर अस्पताल सञ्चालन तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने कार्यक्रमलाई समेत बजेटमा समेटिएको छ।

सामाजिक विकासतर्फ सामाजिक समावेशीकरण, सकारात्मक विभेद तथा लक्षित कार्यक्रम, सुकुम्बासी व्यवस्थापन, सिटी सफारी तथा टेम्पो चालकको दुर्घटना सहयोग, सडक मानव व्यवस्थापन, खेलकुद, बालबालिकाको संरक्षण, विपन्न परिवारलाई छानो सहयोग, लैङ्गिक समानता तथा समावेशीकरण लगायतका कार्यक्रम राखिएका छन्। यी कार्यक्रमका लागि आन्तरिक विनियोजनतर्फ करिब १० करोड ४ लाख रुपैयाँ छुट्याइएको छ।

आर्थिक विकासतर्फ कृषि, पशु, पर्यटन, उद्योग, उद्यम तथा रोजगारीसम्बन्धी कार्यक्रम सञ्चालन गर्न आन्तरिक विनियोजनबाट ६ करोड ८० लाख रुपैयाँ बजेट राखिएको छ।

त्यसैगरी वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनका लागि करिब ३ करोड ९५ लाख रुपैयाँ विनियोजन गरिएको छ। कानुन तथा न्याय सम्पादनका लागि २० लाख रुपैयाँ र खानेपानीका लागि ३ करोड ११ लाख रुपैयाँ बजेट छुट्याइएको बजेट वक्तव्यमा उल्लेख छ।

बजेट वक्तव्यमा धरानलाई आर्थिक रूपमा समृद्ध, सामाजिक रूपमा समावेशी र पूर्वाधारका हिसाबले व्यवस्थित नगरका रूपमा विकास गर्ने लक्ष्य अघि सारिएको छ। आधुनिक प्रविधिमा आधारित कृषि तथा व्यावसायिक पशुपालनको विस्तार, स्थानीय स्रोतको सदुपयोग, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई समेत प्राथमिकता दिइएको छ।

त्यस्तै महिला, बालबालिका, दलित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न र जोखिममा रहेका समुदायको सामाजिक संरक्षण र सशक्तीकरणलाई प्राथमिकतामा राखिएको छ।

बजेट वक्तव्य कार्यवाहक प्रमुख आइन्द्रविक्रम बेघाको संयोजकत्वमा गठित बजेट तर्जुमा समितिले तयार पारेको हो। बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको सहकार्य आवश्यक रहेको वक्तव्यमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित