धरान । धरान खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनाको आय–व्यय तथा खानेपानीका स्रोत र उत्पादनसम्बन्धी विवरण सार्वजनिक गरेको छ।
बोर्डले सार्वजनिक गरेको विवरणअनुसार साउन महिनामा विभिन्न शीर्षकबाट रु. २ करोड ६ लाख ४३ हजार ३ सय ३३ रुपैयाँ ८५ पैसा आम्दानी भएको छ। अघिल्लो महिनाबाट रु. १ करोड १२ लाख ७९ हजार ४ सय ६० रुपैयाँ २० पैसा मौज्दात रहेकोमा साउन महिनामा जम्मा मौज्दात रु. ३ करोड १९ लाख २२ हजार ७ सय ९४ रुपैयाँ ५ पैसा पुगेको देखिन्छ।
त्यसमध्ये साउन महिनामा बोर्डले रु. १ करोड २७ लाख ६२ हजार ६ सय ३३ रुपैयाँ ६५ पैसा खर्च गरेको विवरणमा उल्लेख छ।
खर्चतर्फ कर्मचारी तलबमा करिब रु. ४६ लाख ३५ हजार, ज्यालादारी कामदारको ज्यालामा रु. १३ लाख ७९ हजार, विद्युत् महसुलमा करिब रु. १८ लाख १० हजार, पम्प तथा मोटर मर्मतमा रु. ४ लाख ४५ हजार, ट्रान्सफर्मर मर्मतमा करिब रु. ९ लाख ३८ हजार तथा जाली खरिदमा रु. १२ लाख खर्च भएको देखिन्छ। यसैगरी पम्प तथा मोटर खरिद, विद्युत् लाइन मर्मत, खाल्डाखुल्डी मर्मतलगायत शीर्षकमा पनि खर्च भएको छ।
बोर्डको विवरणअनुसार साउन मसान्तमा रु. १ करोड ९१ लाख ६० हजार २ सय ६० रुपैयाँ ३ पैसा मौज्दात रहेको उल्लेख छ।
दैनिक ३०९ लाख लिटर उत्पादनको दाबी
बोर्डले सार्वजनिक गरेको अर्को विवरणमा धरानका भूमिगत तथा सतही स्रोतबाट दैनिक ३०९ लाख लिटर पानी उत्पादन भइरहेको उल्लेख गरेको छ।
भूमिगत स्रोततर्फ उदय वनबाट दैनिक २५ लाख लिटर, चारकोसेबाट ४० लाख लिटर तथा प्रदेश सरकारबाट निर्माण गरिएका तीनवटा बेलबाट ० लाख लिटर उत्पादन हुने उल्लेख छ।
सतही स्रोततर्फ सर्दु–खर्दु खोलाबाट दैनिक २ करोड ५ लाख लिटर पानी उत्पादन हुने बोर्डको विवरणमा उल्लेख छ।
यसैगरी थप गरिएका सतही स्रोतमा निसाने खोलाबाट १० लाख, कोकाहा खोलाबाट ११ लाख, नयाँ ट्यांकी (रिचार्ज पोखरी) बाट ९.५ लाख, भालु खोलाबाट ४ लाख, पकुवाबाट ३ लाख तथा कोकाहा उपभोक्ता संघसँगको सम्झौताबाट १ करोड ५० लाख लिटर पानी दैनिक उत्पादन हुने उल्लेख गरिएको छ।
बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार विभिन्न स्रोतबाट पानीको उत्पादन बढाउने प्रयास भइरहेको देखिए पनि उल्लेखित स्रोतहरूको उत्पादन क्षमता र वास्तविक वितरणबीचको अवस्था भने छुट्टै विवरणबाट स्पष्ट हुन आवश्यक देखिन्छ।






















Discussion about this post