लजेश राई
धरान । श्रम संस्कृति पार्टीको १ नं. प्रदेश कमिटीको विस्तारित बैठकले प्रदेशमा पार्टी संगठन विस्तार तथा आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न निर्णय गरेको छ।
भदौ १ गते धरान–१६ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा बसेको बैठकले प्रदेशस्तरमा पार्टीको संगठन विस्तार र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने निर्णय गरेको पार्टीले जनाएको छ।
बैठकले १ नं. प्रदेशस्तरीय मेघे–मेघा भेला तथा सम्मेलनको केन्द्रमा वैश्विक चुनौतीका सम्बन्धमा श्रम संस्कृति पार्टीको विस्तार तथा मातहतका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।
त्यस्तै, अन्य राष्ट्रिय राजनीतिक दलका प्रदेशस्तरीय नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने अभियानलाई प्राथमिकता दिने निर्णय गरिएको छ। पार्टीले ‘पुराना राजनीतिक दलबाट आजित’ नेता तथा कार्यकर्तालाई श्रम संस्कृति पार्टीमा आबद्ध हुन आह्वानसमेत गरेको छ।
पार्टीले आगामी निर्वाचनमा बहुमत हासिल गरी श्रम पिता माननीय हर्क साम्पाङलाई देशको कार्यकारी प्रधानमन्त्री बनाउने लक्ष्यसमेत अघि सारेको छ।
स्थानीय निर्वाचनमा १ नं. प्रदेशको मातहतमा रहेका स्थानीय तहमा पार्टीको संगठन विस्तार गरी मजबुत बनाउने र प्रदेशमा बहुमतको सरकार गठन गर्ने गरी राजनीतिक गतिविधि अघि बढाउने निर्णय भएको प्रेस मिटमा उल्लेख छ।
बैठकले पार्टीका विभिन्न विभागको जिम्मेवारीसमेत तोकेको छ। संगठन विभाग प्रमुखमा लाक्पा तामाङ, प्रशिक्षण विभाग प्रमुखमा सुवास घिमिरे, अनुशासन विभाग प्रमुखमा मोहन खिड्के, युवा तथा खेलकुद विभाग प्रमुखमा निशान राई र श्रम विभाग प्रमुखमा धन वानेम लिम्बूलाई जिम्मेवारी दिइएको छ।
बैठकपछि जिल्ला सचिवालय, क्षेत्रीय इन्चार्ज तथा सह–इन्चार्जको समेत विस्तारित बैठक बस्ने जानकारी पार्टीले दिएको छ।




















Discussion about this post