– नबिन सेन्चुरी
धरान । सुनसरीमा प्रहरीले तरकारी बोकेको ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रहरीले ट्रकबाट २ हजार ५ सय ६६ किलो गाँजा बरामद गरेको जनाएको छ।
सुनसरीको इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चेकपोस्टमा ट्राफिक प्रहरीसहितको संयुक्त चेकजाँचका क्रममा ना ७ ख १८२५ नम्बरको ट्रक नियन्त्रणमा लिई जाँच गर्दा गाँजा फेला परेको हो।
प्रहरीका अनुसार ट्रकमा बन्दाकोपी (तरकारी) लोड गरिएको थियो। तरकारीको आडमा गाँजा लुकाएर ओसारपसार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले धनकुटाका ट्रक चालक राजु राई र सहचालक सन्दीप राईलाई पक्राउ गरेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त ट्रक धनकुटाको हिलेबाट तरकारी लोड गरी इनरुवातर्फ आएको खुलेको छ। चेकपोस्टमा गरिएको नियमित जाँचका क्रममा ट्रकबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पुष्पराज मल्लका अनुसार पक्राउ परेका चालक र सहचालकमाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीले गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ पुर्याउने तयारी थियो र यसमा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले बरामद गाँजा र ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाएको छ।





















Discussion about this post