काठमाडौं — गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशी राज दाहाललाई निलम्बन गरेको छ।
गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार, सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सशस्त्र प्रहरी बलबाट कारबाहीका लागि सिफारिस प्राप्त भएपछि दाहालमाथि जाँचबुझ गर्न निलम्बन गरिएको हो।
मन्त्रालयको २०८३ असोज १९ गतेको निर्णयअनुसार दाहाललाई निलम्बन गर्दै घटनाबारे जाँचबुझ गर्न जाँचबुझ अधिकृतसमेत तोकिएको छ। तोकिएका अधिकृतले तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्नुपर्ने पत्रमा उल्लेख छ।
गृह मन्त्रालयले निजामती तथा प्रहरी कर्मचारीले आफ्नो पद र सेवाअनुसारको आचरण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण र गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेको जनाएको छ।
मन्त्रालयले आफ्ना मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका कार्य, संवेदनशील तथा गोप्य सूचना चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको पनि स्पष्ट पारेको छ।
छानबिनबाट प्राप्त निष्कर्षका आधारमा थप कारबाही अघि बढाइने जनाइएको छ। मन्त्रालयले कानूनविपरीत हुने जुनसुकै गतिविधि वा घटनामा संलग्न व्यक्तिमाथि प्रचलित कानूनबमोजिम कारबाही गरिने जनाएको छ।
केही सञ्चारमाध्यमले दाहालमाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्धित घटनामा अनुमति नलिई भेटेको आरोपसमेत उल्लेख गरेका छन्। तर गृह मन्त्रालयको सार्वजनिक विज्ञप्तिले भने आरोपको विस्तृत प्रकृति खुलाएको छैन र मुख्य रूपमा संवेदनशील सूचना चुहावट तथा पदीय आचरणविपरीत कार्यको आरोपबारे जाँचबुझ भइरहेको जनाएको छ।





















Discussion about this post