काठमाडौं, २३ असोज। राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको आयोजनामा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रम शुक्रबार काठमाडौंको नक्सालस्थित होटल होलिडे इनमा सम्पन्न भएको छ।

कम्पनीका अध्यक्ष विशाल हुमागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य प्रमुख अतिथि तथा समाजसेवी एवं व्यवसायी सुरबहादुर श्रेष्ठ विशेष अतिथि रहनुभएको थियो।

कार्यक्रममा स्वास्थ्य विशेषज्ञहरू डा. मोहन भुसाल, डा. समिम अख्तर, डा. रोशन कुमार झा र नर्सिङ इन्चार्ज रेणुका क्षेत्रीले फलफूल तथा तरकारीको स्वच्छता, सन्तुलित आहार, छालाको स्वास्थ्य, क्यान्सरको जोखिम न्यूनीकरण र मुटुको स्वास्थ्यबारे जानकारी दिनुभएको थियो।

प्रमुख अतिथि आचार्यले कृषि क्षेत्रमा युवापुस्ताको बढ्दो आकर्षणले कृषि क्षेत्रको विकास र आधुनिकीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कम्पनीका आगामी कार्यक्रमहरूमा पनि सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो।

विभिन्न सञ्चारमाध्यममा कार्यरत ४० जना सञ्चारकर्मीको सहभागिता रहेको कार्यक्रममा खाद्य स्वच्छता र स्वस्थ जीवनशैलीसम्बन्धी जनचेतना विस्तार गर्ने तथा कृषि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित