धरान । राष्ट्रिय विभूति फाल्गुननन्द लिम्बु समुदायका मात्र महागुरु नभई सम्पूर्ण नेपाली समाजका सुधारक एवम् चेतनाको अभियन्ता रहेको वक्ताहरूले बताएका छन्।
धरानमा आज सम्पन्न १४१औँ फाल्गुननन्द जयन्तीको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले फाल्गुननन्दको विचार, दर्शन र समाज सुधारका अभियानले तत्कालीन पूर्वी नेपालमा ठूलो परिवर्तन ल्याएको स्मरण गरे।
कार्यक्रमको आयोजन किरात याक्थुङ चुम्लुङ सुनसरीले गरेको थियो।
कार्यक्रममा केन्द्रीय सदस्य सङ्गीता सुब्बाले प्रदेश सरकारले फाल्गुननन्द जयन्तीका दिन सार्वजनिक बिदा घोषणा गरे पनि स्थानीय तहहरूले सार्वजनिक कार्यक्रम नगरेकोप्रति ध्यानाकर्षण गराइन्। उनले भनिन्, “फाल्गुननन्दको समाज सुधारका सन्देशसहित स्थानीय सरकारहरूले जन्मजयन्ती मनाउँदा मात्र राष्ट्रिय विभूतिको सम्मान सार्थक हुन्छ।”
राष्ट्रिय चुम्लुङ सदस्य ताजुब लिम्बुले नेपालको इतिहासमा लिम्बु समुदायबाट समाज सुधारका क्षेत्रमा फाल्गुननन्द जस्तो योगदान दिने व्यक्तित्व अहिलेसम्म नदेखिएको उल्लेख गरे। उनका अनुसार झन्डै डेढ सय वर्षअघि राणा शासनको निरङ्कुशताका बीच फाल्गुननन्दले भाषा, लिपि र मुन्धुमको उज्यालो फैलाएर सामाजिक चेतनाको नयाँ युगको सुरुवात गरेका थिए।
किरात धर्म तथा साहित्य उत्थान सङ्घका केन्द्रीय सदस्य सुकबहादुर लिम्बुले चरम गरिबीमा बितेको बाल्यकालबाटै फाल्गुननन्दले समाज सेवा र सुधारका अभियानमा जीवन समर्पण गरेको बताए।
त्यसैगरी चुम्लुङ केन्द्रीय उपमहासचिव डा. योगेन्द्र पालुङवाले पछिल्लो समय धर्मका नाममा भइरहेका विवादका बाबजुद फाल्गुननन्दको योगदान अमूल्य र अवमूल्यन गर्न नसकिने बताए।
राष्ट्रिय चुम्लुङ सदस्य नरेशकुमार इङवारमले भने लिम्बु समुदायकै भित्र फाल्गुननन्दको समाज सुधार अभियानको गहिरो अर्थ बुझ्ने प्रयास अझै कमजोर रहेको टिप्पणी गरे।
कार्यक्रम सुनसरी चुम्लुङ जिल्ला अध्यक्ष शिव सुब्बा (इश्वो)को सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रममा उपाध्यक्ष किरण लिम्बुले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव पदमा लिम्बुले गरेकी थिइन्।





















Discussion about this post