काठमाडौं । बौद्ध क्षेत्र विकास समितिको अध्यक्ष पदका लागि बौद्ध वडा नं. ६ का स्थानीय बासिन्दा तथा समाजसेवी मजिन ब्लोन लामाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
सामाजिक तथा सामुदायिक गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आएका लामाले बौद्ध क्षेत्रको सरसफाइ, सामुदायिक सुरक्षा तथा स्थानीय समस्याको समाधानलाई आफ्नो प्राथमिकतामा राख्दै अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताएका छन्। उनी बौद्ध फोहोरमैला व्यवस्थापन समाजसँग आबद्ध हुनुका साथै बौद्ध सामुदायिक प्रहरीमार्फत समेत सामाजिक सेवामा सक्रिय रहेको जनाइएको छ।
अध्यक्षमा निर्वाचित भए बौद्ध क्षेत्रलाई स्वच्छ, व्यवस्थित, सुरक्षित तथा पर्यटकीय गन्तव्यका रूपमा थप विकास गर्ने योजना लामाले अघि सारेका छन्। उनले फोहोरमैला व्यवस्थापन, अव्यवस्थित पूर्वाधार, ढल तथा ट्राफिक व्यवस्थापनजस्ता स्थानीय समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने बताएका छन्।
लामाले ‘२४ सै घण्टा सफा बौद्ध’ अभियान सञ्चालन गर्ने योजना सार्वजनिक गरेका छन्। त्यसअन्तर्गत घर तथा व्यवसायबाटै फोहोर वर्गीकरण गर्ने व्यवस्था, आवश्यक स्थानमा स्मार्ट डस्टबिनको प्रयोग र डिजिटल निगरानी प्रणाली लागू गर्ने उनको प्रस्ताव छ।
त्यसैगरी, बौद्ध स्तुपको धार्मिक तथा सांस्कृतिक मौलिकता संरक्षण गर्दै तीर्थयात्री तथा पर्यटकका लागि आवश्यक सूचना केन्द्र, स्वच्छ शौचालय, विश्रामस्थल र सुरक्षित वातावरण निर्माण गर्ने उनको योजना छ। बौद्ध धर्म, दर्शन तथा स्थानीय गुम्बाहरूको ऐतिहासिक र सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव तथा डिजिटल प्रचारलाई समेत प्राथमिकता दिने उनले बताएका छन्।
स्थानीय समुदायको सहभागितालाई समेत उनले आफ्नो योजनाको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरेका छन्। स्थानीय बासिन्दा, गुम्बाका प्रतिनिधि, व्यवसायी, युवा तथा विभिन्न संघसंस्थाबीच नियमित संवादका लागि साझा मञ्च निर्माण गर्ने र समितिका निर्णय तथा आर्थिक गतिविधिलाई पारदर्शी बनाउने प्रतिबद्धता लामाले व्यक्त गरेका छन्।
टेलिभिजन अन्तर्वार्ताका क्रममा लामाले आफ्नो नेतृत्वमा बौद्ध क्षेत्रको विकासलाई परिणाममुखी बनाउने दाबी गरेका छन्। अध्यक्ष पदलाई व्यक्तिगत प्रतिष्ठाभन्दा बौद्ध क्षेत्रको विकास, संरक्षण र स्थानीय समुदायको सेवाको माध्यमका रूपमा लिएको उनको भनाइ छ।
उनको उम्मेदवारी घोषणासँगै बौद्ध क्षेत्र विकास समितिको आगामी नेतृत्व चयनलाई चासोका साथ हेरिएको छ।




















Discussion about this post