धरान । नरसिंह भगवान मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरी बिक्रीसमेत गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार साबिक सुनसरीको सिंगिया गाविस–३ र हाल रामधुनी नगरपालिका–३ तथा धरान उपमहानगरपालिका–१४ स्थित नरसिंह भगवान मन्दिरका पुजारीको नाममा कायम रहेको जग्गा व्यक्तिको नाममा नामसारी गर्न मिलेमतो गरिएको थियो।
साबिक भादगाउँ सिनवारी गाविस–४क, हाल रामधुनी नगरपालिका–२ अन्तर्गतको कित्ता नं. १ तथा कित्ता नं. ४ लगायतका जग्गाका सम्बन्धमा गलत प्रतिवेदन तयार गरी व्यक्तिको नाममा नामसारी गरिएको अख्तियारको दाबी छ।
आयोगका अनुसार सिंगिया गाविस र तत्कालीन धरान नगरपालिका–१४ वडा कार्यालयबाट जग्गासम्बन्धी सर्जमिन मुचुल्का तथा नाता प्रमाणित कागजात तयार गराई मालपोत कार्यालय सुनसरीमा पेश गरिएको थियो। त्यसकै आधारमा मन्दिरको नाममा रहेको जग्गा व्यक्तिको नाममा नामसारी गर्ने निर्णय भएको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले उक्त कार्यबाट सरकारी तथा सार्वजनिक सम्पत्तिमा रु. ३६ लाख ९० हजार बराबरको हानिनोक्सानी भएको दाबी गरेको छ।
आरोपपत्रमा धरान नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गणेशप्रसाद खत्रीबडा, सिंगिया गाविसका तत्कालीन अध्यक्ष/सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत सुशील बैध, तत्कालीन शाखा अधिकृत दुर्गानाथ भण्डारी र तत्कालीन नायब सुब्बा केदारबहादुर कार्की, धरान–१४ का तत्कालीन वडा सचिव उत्तम आले, नरसिंह भगवान मन्दिरका पुजारी टिर्ही चौधरी तथा स्थानीय जग्गा कारोबारी पंकज घिमिरेलाई प्रतिवादी बनाइएको उल्लेख छ।
आयोगले प्रतिवादीमध्ये केहीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ तथा दफा १९ लगायतका प्रावधानअनुसार सजाय र बिगो असुलउपरको मागदाबी गरेको छ।
आरोपपत्रमा तत्कालीन सिंगिया गाविसका अध्यक्ष/सचिव कपिलमणि दाहालले नामसारी प्रक्रियामा कागजात मिलाउन सहयोग गरेबापत रु. ५ हजार घुस/रिसवत लिएको समेत उल्लेख गरिएको छ।
त्यसैगरी मन्दिरका पुजारी टिर्ही चौधरीले आफ्नो नाममा रहेको जग्गा बिक्री गरी गैरकानुनी लाभ प्राप्त गर्ने मतियारको भूमिका खेलेको आयोगको दाबी छ। स्थानीय जग्गा कारोबारी पंकज घिमिरेलाई पनि गैरकानुनी लाभ प्राप्त गर्ने कार्यमा संलग्न रहेको आरोप लगाइएको छ।
अख्तियारले मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गरी बिक्रीसमेत गरिएको देखिएको भन्दै उक्त जग्गा पुनः नरसिंह भगवान मन्दिरकै नाममा कायम गराउन मागदाबी गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आरोपपत्र विशेष अदालत, काठमाडौंमा दायर गरिएको हो। आरोप पुष्टि भएमा प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुल, कैद तथा जरिवाना हुने मागदाबी गरिएको छ।























Discussion about this post