धरान । धरान उपमहानगरपालिकाले तीव्र हावाहुरीको सम्भावना औंल्याउँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नगर कार्यपालिकाको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानका आधारमा पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा करिब १११ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाइएको छ।
विज्ञप्तिमा हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, साथै विद्युत् र सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम रहेको उल्लेख छ।
उपमहानगरले नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, हावाहुरी चल्दा घरका झ्यालढोका मजबुत रूपमा बन्द गर्न, सवारी साधन सुरक्षित स्थानमा राख्न तथा जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ। साथै, बिजुलीका तार र पोलबाट दूरी कायम गर्न र विद्युत् उपकरण प्रयोगमा सावधानी अपनाउन पनि सुझाव दिइएको छ।
यस्तै, मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन र कुनै आपतकालीन अवस्था आएमा सम्बन्धित निकायमा सम्पर्क गर्न उपमहानगरले अनुरोध गरेको छ।





















Discussion about this post