राष्ट्रसेवकलाई कर्तव्य पालनमा बाधा पुर्‍याएको आरोपमा रुकुम पश्चिमका वडाध्यक्ष पक्राउ

रुकुम पश्चिम । राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनमा बाधा पुर्‍याएको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार वडाध्यक्ष विकलाई राष्ट्रसेवकलाई बाधा–विरोध गर्न नहुने कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो। प्रहरीले जारी गरेको प्रेस नोटअनुसार विकविरुद्ध यसअघि पनि विभिन्न मुद्दा चलेको र ती मुद्दामा धरौटीमा छुटेको विवरणसमेत उल्लेख छ।

प्रहरीका अनुसार आठबिसकोट नगरपालिका–३ बस्ने अन्दाजी ३३ वर्षीय गोपाल विक भनिने वीरेन्द्र विक विरुद्ध अभद्र व्यवहारसम्बन्धी जाहेरी परेपछि प्रहरीले खोजतलास गरिरहेको थियो। खोजतलासका क्रममा वीरेन्द्र विकलाई आठबिसकोट नगरपालिका–१ खलंगा बजारमा लुकीछिपी बसेको अवस्थामा फेला पारेपछि पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले वीरेन्द्र विकलाई पक्राउ गर्ने क्रममा उनीसँगै रहेका उनका दाइ तथा वडा नं. ३ का वडाध्यक्ष केशरमान विकसमेत त्यहाँ पुगेको जनाएको छ। प्रहरीले ‘हिँड्नुहोस्’ भनेर जानकारी गराउने क्रममा वडाध्यक्ष विकले प्रहरी टोलीसँग वादविवाद गर्दै अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेको आरोप लगाएको छ।

त्यसपछि वडाध्यक्ष विकले आफ्ना भाइ गोपाल विकलाई प्रहरीबाट भगाउन खोज्नुका साथै ड्युटीमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई हातपात गरेको र कपडासमेत च्यातिदिएको प्रहरीको दाबी छ। राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनमा बाधा पुर्‍याएको आरोपमा उनलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका विकलाई जिल्ला प्रशासन कार्यालय मुसिकोट, रुकुम पश्चिममा उपस्थित गराई राष्ट्रसेवकलाई बाधा–विरोध गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि तीन दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसअघि पनि विभिन्न मुद्दामा धरौटी
प्रहरीको प्रेस नोटमा वडाध्यक्ष विकविरुद्ध यसअघि विभिन्न मुद्दा दर्ता भई अनुसन्धान तथा अदालतको प्रक्रियाबाट धरौटीमा छुटेको विवरण उल्लेख गरिएको छ।

१. अभद्र व्यवहार मुद्दा : रु. १० हजार धरौटी
आर्थिक वर्ष २०७६/०७७ मा २०७६ पुस ३ गते, मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत आठबिसकोट नगरपालिकाको पत्र जाहेरीले अभद्र व्यवहार मुद्दा दर्ता भएको प्रहरीको विवरणमा उल्लेख छ। उक्त मुद्दामा अनुसन्धान पूरा भएपछि मुद्दा दायर भई २०७६ पुस २० गतेको आदेशबाट रु. १० हजार धरौटीमा छुटेको उल्लेख छ।

२. ज्यान मार्ने उद्योग मुद्दा : रु. १ लाख धरौटी
त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ कै २०७७ जेठ ५ गते, मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ अन्तर्गत अमृते बोहरा समेतको जाहेरीले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। अनुसन्धानपछि उक्त मुद्दामा २०७७ पुस १८ गतेको आदेशबाट रु. १ लाख धरौटीमा छुटेको विवरण प्रेस नोटमा छ।

३. पुनः अभद्र व्यवहार मुद्दा : रु. २४ हजार धरौटी
आर्थिक वर्ष २०७७/०७८ मा २०७७ असोज ७ गते, मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत तारकबहादुर शाहीको जाहेरीले अभद्र व्यवहारसम्बन्धी अर्को मुद्दा दर्ता भएको प्रहरीको विवरणमा उल्लेख छ। उक्त मुद्दामा अनुसन्धानपछि २०७७ असोज १६ गतेको आदेशबाट रु. २४ हजार धरौटीमा छुटेको जनाइएको छ।

४. गुण्डा प्रवृत्तिको व्यवहार देखाएको प्रहरीको आरोप
प्रहरीले वडाध्यक्ष विक गैंडागाउँमा रहँदा–बस्दा समेत आफ्नो चालचलन सन्तोषजनक नभई गुण्डा प्रवृत्तिको व्यवहार देखाउँदै पटक–पटक विभिन्न घटनामा संलग्न हुने गरेको विवरणसमेत प्रेस नोटमा उल्लेख गरेको छ।
यसपटकको घटनामा भने राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनमा बाधा पुर्‍याएको आरोपमा उनलाई पक्राउ गरिएको हो। वडाध्यक्ष विकमाथि लगाइएको आरोपबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। आरोपीको कानुनी प्रतिरक्षा तथा अदालतबाट हुने अन्तिम निर्णय भने बाँकी नै छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित