धनकुटा। सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा चालकसहित १२ जनाको उद्धार गरिएको छ।
नेपाल प्रहरीका अनुसार २०८३ साल कात्तिक ८ गते दिउँसो करिब २ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना भएको हो।
भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–चतरा जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट ब्रेक फेल भएपछि दुर्घटनामा परेको प्रारम्भिक विवरणमा उल्लेख छ। पानीबोटमा चालकसहित १५ जना सवार थिए।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टी, सुनसरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। उद्धार गरिएका १२ जनालाई उपचारका लागि चतरा अस्पताल पठाइएकोमा तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा एक महिला, एक बालिका र एक पुरुष
मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की करिब ५२ वर्षीया लिला राई रहेकी छन्। अन्य दुई मृतकमा नाम, थर र ठेगाना नखुलेकी करिब ६–७ वर्षीया बालिका र करिब ४०–५० वर्षीय पुरुष रहेका छन्। तीनै जनाको चतरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
नौ जना सकुशल उद्धार
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार उद्धार भई सकुशल रहेका नौ जनामा भोजपुरको हतुवागढी गाउँपालिका–४ का विष्णु सुनार, तीर्था रसाइली सुनार, पूजा तिरुवा, प्रज्वल तिरुवा, देवेन्द्र राई, रञ्जित राई र मोहन सुनार रहेका छन्।
त्यस्तै, झापाको कनकाई नगरपालिका–४ की निता मगर र पानीबोट चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का करिब २४ वर्षीय सुमन मगर पनि सकुशल उद्धार भएका छन्।
तीन जना अझै बेपत्ता
दुर्घटनापछि तीन जना अझै बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा झापाको कनकाई नगरपालिका–४ का करिब ७ वर्षीय शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की करिब २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी करिब २२ वर्षीया मनु राई रहेका छन्। शिवक मगर निता मगरका छोरा हुन्।
बेपत्ता भएकाहरूको खोजीका लागि नदी क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरी र सशस्त्र प्रहरी परिचालन
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमाण्डमा १४ जना प्रहरी परिचालन गरिएको छ। त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वार्टर धनकुटाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयालको कमाण्डमा १६ जनाको टोली खटिएको छ।
बेपत्ता तीन जनाको खोजी तथा दुर्घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।





















Discussion about this post