दशा बन्यो दशै,गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते

गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बुधबार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा.अ. ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा दुर्घटनामा परेको हो। स्कारपियो सडकबाट करिब २५० मिटर तल खसेको जनाइएको छ।

दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे र गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन्।

घाइते छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ। गोमता पाण्डेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ भने बालकृष्ण सुवेदीलाई मिर्मीबाट थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ। उनीहरू दुवैको अवस्था मध्यम रहेको जनाइएको छ।

दुर्घटनामा परी निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको थियो। यस्तै, स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिप कुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सोही ठाउँकी सिता पाण्डे तथा सिरकोट घर भई हाल बुटवलको खैरेनीमा बस्दै आएका कुलानन्द पाण्डेको पनि मृत्यु भएको जनाइएको छ।

दुर्घटनापछि उद्धार टोलीले घटनास्थलबाट मृतक तथा घाइतेलाई उद्धार गरी विभिन्न अस्पतालमा पुर्‍याएको थियो।

दुर्घटना के कारणले भएको हो भन्नेबारे खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित