लिम्बु समुदायमा भाइटीकाको मौलिकता छैन, फूल साटासाटले अनिष्ट हुने मुन्धुमी मान्यता (भिडियो संवाद सहित )

 

धरान। लिम्बु समुदायमा प्रचलित मुन्धुमअनुसार भाइटीकाको दिन चेली–माइतीबीच फूल साटासाट गर्ने परम्परा मौलिक संस्कार नभएको अभियन्ता आइतब खासमले बताएका छन्। उनले लिम्बु मुन्धुममा फूल आदानप्रदान गर्दा अनिष्ट हुने दुईवटा प्रसंग रहेको उल्लेख गर्दै भाइटीकाका नाममा फूलमाला साटासाट गर्ने चलनलाई आफ्नो मौलिक परम्परा ठानेर निरन्तरता दिन नहुने धारणा राखेका छन्।

तिहारको भाइटीकामा चेलीले माइतीलाई फूलमाला लगाइदिने र उपहार आदानप्रदान गर्ने प्रचलन पछिल्लो समय लिम्बु समुदायमा पनि बढ्दै गएको अवस्थामा खासमले यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनका अनुसार तिहार, गाईपूजा, कुकुरपूजा तथा गोरुपूजाजस्ता पर्व लिम्बु समुदायको मौलिक मुन्धुमसँग सम्बन्धित छैनन्। बहुजातीय तथा मिश्रित समाजमा एक समुदायले अर्को समुदायको संस्कृति अपनाउनु अस्वाभाविक नभए पनि अर्काको संस्कृतिलाई आफ्नो मौलिक परम्परा भनेर दाबी गर्नु उचित नहुने उनको भनाइ छ।

खासमले फूल साटासाट नगर्नुपर्ने मान्यतालाई पुष्टि गर्न लिम्बु समुदायमा प्रचलित दुईवटा मुन्धुमी प्रसंग उल्लेख गरेका छन्।

पहिलो प्रसंगमा बाजागे बा तेन्दुम्याङबा र खापुरा मेल्लहङमाको कथालाई जोडिएको छ। उक्त कथाअनुसार खापुरा मेल्लहङमाले आफ्नो बच्चालाई सुताउन नन्द इबोको इदहाङमालाई जिम्मा लगाएर काममा गएकी हुन्छिन्। फर्केर आउँदा नन्दले बच्चालाई कोक्रोमा खुट्टाले हल्लाउँदै अपमानजनक शब्द प्रयोग गरिरहेको देख्छिन्। त्यसपछि उनले श्रीमान्लाई घटनाबारे जानकारी गराउँछिन्। रिसाएका श्रीमान्लाई श्रीमतीले तत्काल हिंसात्मक कदम नचाल्न आग्रह गर्दै फूल खोजेर ल्याउन र गाउँलेहरूलाई पनि त्यसमा सहभागी गराउन सुझाव दिन्छिन्।

त्यसपछि चेलीलाई फूल दिने क्रममा फूल शरीरमा लाग्दा अनिष्ट हुने र अन्ततः उनको मृत्यु हुने प्रसंग मुन्धुममा रहेको खासमले व्याख्या गरेका छन्। उनका अनुसार यस कथाले चेली–माइतीबीच फूल प्रहार गर्ने वा साटासाट गर्ने कार्य अशुभ मानिने सांस्कृतिक मान्यतालाई संकेत गर्छ।

दोस्रो मुन्धुमी प्रसंग तमोर खोलाको शिरसँग सम्बन्धित छ। कथाअनुसार चेलीलाई फूल मन परेपछि माइतीलाई फूल खोज्न पठाइन्छ। फूल खोज्ने क्रममा माइती भिरबाट लडेर तमोर नदीमा खस्छन् र नदीले बगाएर लैजान्छ। लामो समयसम्म माइती नफर्किएपछि चेलीले खोजी गर्दै जाँदा हाल युमा थाकेलुङ भनिने स्थान आसपासमा उनको शव भेटिन्छ। त्यसपछि माइतीको शवलाई फूलले सजाएर अन्तिम संस्कार गरिएको र त्यस घटनासँग गर्भवती महिलाको रक्षक देवतासम्बन्धी मुन्धुमी प्रसंगसमेत जोडिएको खासमले बताए।

यी दुई मुन्धुमी कथालाई आधार मान्दै उनले लिम्बु समुदायमा फूल खोज्न पठाउने, फूल आदानप्रदान गर्ने तथा चेली–माइतीबीच फूल साटासाट गर्ने कार्यलाई शुभ नमानिने व्याख्या गरेका छन्।

अन्तर्वार्ताका क्रममा उनले बलिहाङ तङ्नाम र देउसीभैलोको विषयमा पनि चर्चा गरे। बलि राजा वा बलिहाङलाई लिम्बु समुदायको मौलिक मुन्धुममा राजा वा पात्रका रूपमा पुष्टि गर्ने आधार नरहेको उनको भनाइ छ। बलिराजासँग सम्बन्धित परम्परालाई लिम्बु समुदायले आफ्नो भाषिक तथा सांस्कृतिक पहिचानसँग जोडेर अपनाउन खोजेको भए पनि त्यसको ऐतिहासिक जरा मुन्धुममा भेट्न नसकिएको उनले बताए।

खासमका अनुसार लिम्बु समुदायमा चेली–माइतीबीचको सम्बन्धलाई सम्मान गर्ने आफ्नै मौलिक संस्कार छ, जसलाई ‘माङ्गेना’ भनिन्छ। माङ्गेना गर्दा चेली र माइती दुवैको उपस्थिति आवश्यक हुने र विशेष परिस्थितिमा प्रत्यक्ष भेटघाट सम्भव नभए पनि चेली वा माइतीको प्रतिनिधित्व गर्ने प्रतीक राखेर विधि पूरा गर्न सकिने उनको भनाइ छ।

उनले भाइटीकाको दिन महँगा फूलमाला र उपहार आदानप्रदान गर्नुभन्दा आफ्नै समुदायको मौलिक संस्कार र परम्पराको खोजी गर्न युवापुस्तालाई आग्रह गरेका छन्।

यसैगरी, लिम्बु समुदायका किरात याक्थुङ चुम्लुङ, युमा साम्यो महासभा तथा अन्य जातीय संस्थाहरूले मुन्धुम, भाषा र संस्कृतिबारे नयाँ पुस्तालाई पर्याप्त ज्ञान दिन नसकेको भन्दै उनले आलोचना गरेका छन्। विद्यालयको पाठ्यक्रममा समेत समुदायको मौलिक इतिहास, भाषा र संस्कृतिलाई पर्याप्त स्थान दिनुपर्ने उनको सुझाव छ।

उनका अनुसार भाषा नै संस्कृति, संस्कार र इतिहासको मूल आधार हो। भाषा कमजोर हुँदै गएमा त्यससँग जोडिएका संस्कार र संस्कृति पनि क्रमशः लोप हुने खतरा रहन्छ। त्यसैले भाषा संरक्षणसँगै मौलिक ज्ञान र परम्परालाई पुस्तान्तरण गर्न आवश्यक रहेको उनले बताए।

अन्त्यमा खासमले लिम्बु समुदायका युवापुस्तालाई अरू समुदायका चाडपर्व मनाउन रोक्नुपर्ने नभई आफ्नो मौलिक पहिचान, मुन्धुम र संस्कारबारे सचेत हुन आग्रह गरेका छन्। अरूका चाडपर्व मनाए पनि आफ्नो मौलिक परम्परा र मूल्य–मान्यता बिर्सन नहुने उनको सन्देश छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित