लालीगुराँस नगरपालिकाले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि ४ करोड बजेटसहित थाल्यो विशेष कार्यक्रमहरू

बसन्तपुर, लालीगुराँस | लालीगुराँस नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ देखि सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको अभिवृद्धि गर्ने उद्देश्यले एकपछि अर्को गरी बहुआयामिक कार्यक्रमहरू कार्यान्वयनमा ल्याएको छ।

शिक्षा क्षेत्रमा व्यापक सुधार ल्याउने लक्ष्यसहित नगरपालिकाले आफ्नै स्रोतबाट करिब ४ करोड रुपैयाँ बजेट विनियोजन गर्दै दर्जनौँ कार्यक्रम सञ्चालनमा ल्याएको हो।

नगर क्षेत्रभित्र रहेका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै विद्यार्थी बसोबास र भोजनको व्यवस्थादेखि लिएर, निःशुल्क परीक्षा तयारी कक्षा, भाषा तालिम, अतिरिक्त कोचिङ, स्कुल बस सुविधा, होम ट्युसन, प्रोत्साहन पुरस्कार, र अतिरिक्त क्रियाकलापसम्मका कार्यक्रमहरू समावेश गरिएका छन्।

छात्रावास र बसोबासको व्यवस्था

कक्षा ११ र १२ मा अध्ययनरत टाढाका विद्यार्थीहरूको शैक्षिक पहुँचलाई सहज बनाउने उद्देश्यले श्री रत्न माध्यमिक विद्यालय र श्री बसन्त माविमा छात्रावाससहित खाने/बस्ने सुविधा सुरु गरिएको छ। यस्तै, श्री रज मावि र श्री बसन्त माविमा छात्रावास निर्माणको काम पनि अघि बढाइएको छ।

मेयर अर्जुन माबुहाङ लालिगुराँस नगरपालिका

 

निःशुल्क परीक्षा तयारी कक्षा

नगर क्षेत्रभित्रका इच्छुक विद्यार्थीहरूलाई निःशुल्क रूपमा लोक सेवा आयोग तथा शिक्षक सेवा आयोग तयारी कक्षा उपलब्ध गराउने कार्यक्रम सञ्चालनमा ल्याइएको छ। यसले ग्रामीण तथा आर्थिक रूपले कमजोर विद्यार्थीहरूलाई सरकारी सेवातर्फ आकर्षित गर्ने विश्वास लिइएको छ।

भाषा तालिम र रोजगारीमुखी कार्यक्रम

कोरियन भाषा सिक्न चाहने युवाहरूका लागि श्री बसन्त माविमा तथा जापानी भाषा सिक्न चाहनेका लागि श्री रत्न माविमा भाषा तालिम कार्यक्रम सञ्चालन गरिएको छ। यो कार्यक्रम वैदेशिक रोजगारीका लागि तयार पारिने युवालाई लक्षित गरी ल्याइएको हो।

पढ्दै कमाउँदै कार्यक्रम र कोचिङ सुविधा

श्री वसन्त मावि र रत्न माविमा “पढ्दै- कमाउँदै” कार्यक्रम सुरु गरिएको छ। साथै, श्री रज मावि र श्री बसन्त माविमा कक्षा ११/१२ का विद्यार्थीहरूलाई विद्यालय समय बाहेकको समयमा अतिरिक्त कोचिङ कक्षा सञ्चालन गरिएको छ।

स्कुल बस सुविधा र इन्धन अनुदान

टाढा बस्तीबाट विद्यालय आउनुपर्ने विद्यार्थीहरूको पहुँच सहज बनाउन श्री बसन्त मावि (बसन्तपुर), श्री रन मावि (सोल्मा), श्री सिंहदेवी मावि (मंगलबारे), र श्री मान स्मारक शिक्षा निकेतन (मुसाङ्गेल) लाई सशर्त पुँजीगत अनुदानसहित स्कुल बस खरिदका लागि भन्सार छुट सुविधा उपलब्ध गराइएको छ। स्कुल बस सञ्चालन गर्ने विद्यालयहरूलाई इन्धन अनुदानसमेत दिइनेछ।

शिक्षक व्यवस्थापन र तालिम

विषयगत शिक्षक अभाव भएका विद्यालयमा शिक्षक व्यवस्थापनका लागि अनुदान प्रदान गरिएको छ। साथै, सामुदायिक विद्यालयका शिक्षकहरूलाई पेशागत विकास (TPD) तालिम तथा उत्कृष्ट शिक्षक सम्मान कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ। विद्यालयका कर्मचारी तथा बालविकास सहजकर्तालाई श्रम ऐनअनुसार न्यूनतम सेवा सुविधा उपलब्ध गराइनेछ।

सांस्कृतिक, खेलकुद र अतिरिक्त क्रियाकलाप

तीनजुरे क्षेत्रस्थित लसुने, दौगपा र बसन्तपुरमा गीत, संगीत र नृत्य विधामा अतिरिक्त कक्षा सञ्चालन गरिनुका साथै विद्यार्थीहरूबीच प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमहरू समेत सञ्चालन गरिने छन्। सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी खेलकुद प्रशिक्षणका लागि प्रशिक्षकको व्यवस्थासमेत गरिएको छ।

पुरस्कार, होम ट्युसन र स्थानीय पाठ्यक्रम

१०+२ तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगरपालिकाले पुरस्कार प्रदान गर्नेछ। साथै, दुर्गम तथा विकट बस्तीका बालबालिकाहरूका लागि होम ट्युसन कार्यक्रम सञ्चालन गरिनेछ। स्थानीयता प्रवर्द्धन गर्न स्थानीय पाठ्यपुस्तक निर्माणको काम पनि अघि बढाइएको छ।

नगरप्रमुखका अनुसार, “शिक्षालाई गुणस्तरीय बनाउँदै सबैलाई समान अवसर दिने उद्देश्यले बजेट खर्चको प्राथमिकता शिक्षामा दिइएको छ।”

लालीगुराँस नगरपालिकाले अघि सारेको यी कार्यक्रमहरू स्थानीय तहबाट शिक्षामा देखिएको उदाहरणीय पहलको रूपमा लिइएको छ।

·

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित