धरान, असार २५ — धरान–१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कुल भारतको नागाल्याण्ड राज्यको मोकोकचुङमा आयोजना हुने आदिकवि भानुभक्त आचार्यको २१२औँ भानु जयन्ती विशेष कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली मौलिक लोकसंस्कृति प्रस्तुत गर्न जाने भएको छ।
विद्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा नागाल्याण्डस्थित गोर्खा विद्यार्थी संघ (Gorkha Students’ Union) को औपचारिक निमन्त्रणामा विद्यालयका आठ जना विद्यार्थीको टोली असार २७ गते नागाल्याण्ड प्रस्थान गर्ने जानकारी दिइयो।
टोलीले कार्यक्रममा नेपालको मौलिक पहिचान झल्काउने मारुनी, साकेला, कौडा, धामी तथा चण्डी गरी पाँचवटा सांस्कृतिक नृत्य प्रस्तुत गर्नेछ।
विद्यालयका निर्देशकले यो सहभागिता विद्यार्थीको प्रतिभा प्रदर्शनमा मात्र सीमित नभई नेपालको भाषा, कला, संस्कृति, भेषभूषा र परम्परालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने महत्वपूर्ण अवसर भएको बताए। उनका अनुसार नागाल्याण्डमा बसोबास गर्ने नेपाली मूलका समुदायबीच नेपाली संस्कृतिको प्रवर्द्धनमा विद्यालयको सहभागिताले सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।
निर्देशकले आफू नागाल्याण्डमै जन्मेर हुर्किएको अनुभव सुनाउँदै त्यहाँ भानु जयन्ती अत्यन्त भव्य रूपमा मनाइने गरेको बताए। नेपाल आएपछि नेपाली संस्कृतिको विविधता देखेर प्रभावित भएको र त्यसलाई प्रवासी नेपालीमाझ पुर्याउने चाहना लामो समयदेखि रहेको उल्लेख गरे।
पत्रकार सम्मेलनमा सहभागी विद्यार्थीहरूले पहिलो पटक विदेशमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफूहरू उत्साहित, गौरवान्वित र केही नर्भससमेत भएको अनुभव सुनाए। उनीहरूले नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न पाउनु जीवनकै अविस्मरणीय अवसर भएको बताए।
विद्यालयका अनुसार यो कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ थप परिचित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।






















Discussion about this post