बैतडी, असार १० — बैतडी जिल्लाको पूर्चौडी नगरपालिका–९ तल्लादेहीस्थित श्री खेती माध्यमिक विद्यालयमा प्रधानाध्यापकद्वारा कक्षा ८ मा अध्ययनरत एक विद्यार्थीमाथि कुटपिट गरिएको आरोप लागेको छ। कुटपिटका कारण विद्यार्थी गम्भीर घाइते भई बेहोस भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको बताइएको छ।
Nepal bulletin News को फेसबुक पेजमा जनाए अनुसार घटनापछि विद्यालय प्रशासन र शिक्षकहरूको भूमिकाप्रति समेत प्रश्न उठेको छ। विद्यालयमा कार्यरत १७ जना शिक्षकहरूमध्ये कसैले पनि घाइते विद्यार्थीको अवस्था बुझ्न वा परिवारसँग सम्पर्क गर्न चासो नदेखाएको आरोप लगाइएको छ।
स्थानीय स्रोतका अनुसार बेहोस भएका विद्यार्थीलाई विद्यालयका शिक्षकहरूले नभई अन्य विद्यार्थीहरूले नै बोकेर अस्पताल पुर्याएका थिए। घटनामा संलग्न भनिएका प्रधानाध्यापकसँग सम्पर्क गर्ने प्रयास गर्दा उनले फोन नउठाएको तथा कल काटिरहेको आरोप समेत लगाइएको छ।
घटनाप्रति अभिभावक तथा स्थानीयवासीले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।
यता सम्बन्धित निकायले घटनाबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ।




















Discussion about this post