धरान उपमहानगरले निजी विद्यालयलाई तत्काल शुल्क नलिन निर्देशन

धरान । धरान उपमहानगरपालिकाले निजी विद्यालयहरूलाई अभिभावकको सहमतिमा शुल्क निर्धारण भएको प्रमाण पेश नगरेसम्म विद्यार्थीबाट शुल्क नलिन निर्देशन दिएको छ।

शिक्षा, युवा तथा खेलकुद महाशाखाबाट जारी पत्रअनुसार शैक्षिक सत्र २०८३ का लागि उपमहानगरले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिएको, अभिभावक भेलाबाट शुल्क पारित नगरी शुल्क असुलिएको भन्ने गुनासो प्राप्त भएपछि विद्यालयहरूलाई आवश्यक कागजात पेश गर्न भनिएको हो।

उपमहानगरले विद्यालयहरूलाई निम्न कागजात उपलब्ध गराउन निर्देशन दिएको छः

अभिभावक भेला गरी दुई तिहाइ बहुमतबाट पारित गरिएको मासिक शुल्क निर्धारणको प्रतिलिपि।
गत शैक्षिक सत्रको शुल्क विवरण।
शैक्षिक सत्र २०८३ मा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको विवरण।
पत्रमा उल्लेख भएअनुसार विद्यालयहरूले माग गरिएका विवरण र प्रमाणित कागजात कार्यालयमा पेश गरेपछि मात्र शुल्क सम्बन्धी थप निर्णय गरिनेछ। साथै, कार्यालयबाट अर्को सूचना जारी नभएसम्म अभिभावकबाट शुल्क नलिन पनि निर्देशन दिइएको छ।

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईद्वारा हस्ताक्षरित उक्त पत्र २०८३ असार ४ गते जारी गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित