धरान । श्रम संस्कृति पार्टीले आत्मदाहको प्रयास गरेका मुगु निवासी गणेश नेपालीको उपचारका क्रममा भएको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ।
पार्टीले शुक्रबार जारी गरेको प्रेस नोटमार्फत स्वर्गीय गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
प्रेस नोटमा गणेश नेपालीको निधनले संविधानले परिकल्पना गरेको कल्याणकारी राज्यको अवधारणा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको यथार्थलाई पुनः उजागर गरेको उल्लेख गरिएको छ। आर्थिक अभाव, सामाजिक असुरक्षा, राज्यबाट आवश्यक सहयोग प्राप्त गर्न नसक्नु, सम्बन्धित निकायको गैरजिम्मेवारी तथा कानुन कार्यान्वयनमा देखिएको कमजोरीका कारण नागरिक आत्मदाहजस्तो पीडादायी निर्णय लिन बाध्य हुनु अत्यन्त दुःखद र गम्भीर विषय भएको पार्टीको भनाइ छ।
श्रम संस्कृति पार्टीले नेपाल सरकारसँग घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी छानबिन गर्न, दोषी देखिएका पक्षमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन माग गरेको छ। साथै विपन्न, गरिब तथा असहाय नागरिकको जीवन रक्षा र सामाजिक सुरक्षाका लागि प्रभावकारी नीतिगत तथा संस्थागत व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।
पार्टीले भविष्यमा कुनै पनि नेपाली नागरिक आर्थिक अभाव, निराशा वा राज्यको लापरबाहीका कारण गणेश नेपालीले जस्तै आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य नहोस् भन्ने वातावरण सिर्जना गर्न सामाजिक सुरक्षा, रोजगारी, स्वास्थ्य सेवा तथा नागरिक कल्याणसम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ।





















Discussion about this post