पोलियोले शरीर कमजोर बनायो, तर हार्मोनियमले जीवन उज्यालो बनायो : संगीतकार दिव्य खालिङ

धरान | चैत १६ नेपाली संगीत क्षेत्रमा विशिष्ट पहिचान बनाएका दिव्य खालिङ को जन्म वि.सं. २००८ साल चैत १६ गते भारतको दार्जिलिङ मा भएको थियो। पिता स्यामसन र माता मार्थाका माइला सुपुत्र खालिङ बाल्यकालमै जीवनको कठोर परीक्षासँग जुध्नुपर्‍यो।

जन्मिएको सात महिनामै उनलाई पोलियो ले आक्रान्त बनायो, जसका कारण उनी हिँडडुल गर्न असमर्थ भए। तर यही अवस्थामा उनका पिताले दिएको एउटा सानो उपहार—हार्मोनियम—उनको जीवनको सबैभन्दा ठूलो सहारा बन्यो। शारीरिक दुर्बलताले अन्य गतिविधिमा रोक लगाए पनि संगीतप्रतिको उनको लगावलाई भने कहिल्यै रोक्न सकेन।

खालिङलाई धेरैले संगीतकारको रूपमा चिन्ने गरे पनि उनी उत्कृष्ट गीतकार र गायक पनि थिए। उनी चर्चित गायक अरुण थापा का प्रारम्भिक गुरुका रूपमा चिनिन्छन्। साथै, उनले नारायण गोपाल र गोपाल योञ्जन पछि दार्जिलिङ र नेपालबीचको संगीत तथा नाट्य सम्बन्धलाई थप मजबुत बनाउने महत्वपूर्ण भूमिका निर्वाह गरे।

उनको संगीत संयोजनलाई नेपाली संगीत क्षेत्रकै सबैभन्दा सशक्त मानिन्छ। अम्बर गुरुङ पछि विदेशी नोटेशन लेख्न सक्ने दुर्लभ प्रतिभाका रूपमा उनी चिनिन्थे।

खालिङको संगीतमा नारायण गोपाल का अमर गीतहरू—‘हे कान्छा’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘म त लालीगुराँस भएँछु’, ‘तिमी जुन रहरले’ जस्ता कालजयी सिर्जनाहरू समेटिएका छन्। त्यस्तै अरुण थापा का ‘साँझको जूनसँगै’, ‘पग्लेर जाने हिउँ म हैन’, ‘नपोखिने नजोखिने’ जस्ता गीतहरू पनि उनको संगीतमा अमर बनेका छन्। भक्तराज आचार्य का ‘हजार आँखा छेक्ने’ र ‘जति चोट दिन्छौ देऊ मायालु’ जस्ता गीतहरूमा पनि उनको योगदान अमूल्य छ।

वि.सं. २०६३ साल असार ११ गते उनको निधन भए पनि उनका सिर्जनाहरू आज पनि नेपाली संगीतप्रेमीहरूको मनमा जीवित छन्। स्रोत  तस्बिर नेपाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित