नबिन सेन्चुरी
धरान, असार ३१ । धरानस्थित पेडलर्स धरान माउन्टेन बाइकिङ क्लब ले वार्षिक ‘कोरा राइड २०८३’ शनिबार आयोजना गर्ने भएको छ। क्लबले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार कार्यक्रममार्फत साइकल संस्कृतिको प्रवर्द्धन, पर्यावरण संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
आयोजकका अनुसार कोरा राइड नेपालमा सन् २०११ देखि सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय अभियान हो। प्रत्येक वर्ष श्रावण महिनामा देशका विभिन्न शहरसँगै विश्वका विभिन्न स्थानमा समेत साइकल र्याली आयोजना गरिन्छ।
धरानमा भने यो कार्यक्रम सन् २०२४ देखि पेडलर्स धरानले आयोजना गर्दै आएको र यस वर्ष ४०० भन्दा बढी राइडर सहभागी गराउने लक्ष्य राखिएको क्लबले जनाएको छ।
यस वर्षको कार्यक्रम ‘कोशी प्रदेश पर्यटन वर्ष २०८३’ अभियानलाई टेवा पुर्याउने उद्देश्यसहित आयोजना गरिएको हो। साइकलमार्फत प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको प्रचार–प्रसार गर्दै दिगो तथा वातावरणमैत्री पर्यटन विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकको भनाइ छ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली रहनेछन्। र्याली धरान–२ को भानुचोकबाट बिहान ६ बजे सुरु भई विभिन्न स्थानको परिक्रमा गर्दै धरान–८ स्थित लाइडाली सामुदायिक पार्क मा समापन हुनेछ। र्यालीको कुल दूरी ३० किलोमिटर रहनेछ।
सहभागी राइडरलाई टिसर्ट, मेडल, साइकल बफ तथा विभिन्न स्थानमा खाना, खाजा, जुस, मोही र लस्सी को व्यवस्था गरिएको छ। सुनसरी बाहिरबाट आउने सहभागीका लागि एक रातको आवास र रात्री भोजनको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
यस वर्ष सहभागीहरूका लागि गोलाप्रथामार्फत विभिन्न पुरस्कार वितरण गरिनेछ। मुख्य आकर्षणका रूपमा एटीबी अन्तिमबाट प्रायोजित माउन्टेन बाइक पनि पुरस्कारमा राखिएको क्लबले जनाएको छ।




















Discussion about this post