धरान–२० मा पहिलोपटक महिला नकआउट खुला फुटबल प्रतियोगिता आयोजना हुँदै

धरान । विष्णु सांस्कृतिक युवा क्लब, धरान–२० विष्णुपादुकाको आयोजनामा पहिलोपटक ‘खेलमा समानता, महिलामा सक्षमता’ भन्ने नारासहित महिला नकआउट खुला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

आयोजक क्लबले पत्रकार तथा सञ्चारकर्मीलाई जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतियोगिता २०८३ असोज २४ गतेदेखि ३१ गतेसम्म धरान–२० स्थित सिरिसे खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा धरानसहित धरान बाहिरका गरी ५ वटा महिला फुटबल क्लब सहभागी हुने जनाइएको छ।

महिला खेलाडीमा रहेको प्रतिभा पहिचान तथा विकास गर्ने, उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने, आत्मविश्वास, नेतृत्व क्षमता र शारीरिक दक्षता अभिवृद्धि गर्ने आयोजकको उद्देश्य छ। साथै, महिला र पुरुषबीच खेलकुदमा समान अवसरको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार रुपैयाँ तथा दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। कप, मेडल, प्रमाणपत्रलगायत विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ६ लाख ५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। बजेटमा पुरस्कार, कप, मेडल तथा प्रमाणपत्र, साउन्ड सिस्टम, यातायात, स्टेज, विज्ञापन, स्वयंसेवक, मैदान मर्मत, प्राविधिक खर्च, खेलकुद सामग्री, उद्घाटन तथा समापन कार्यक्रमलगायत शीर्षक समेटिएका छन्।

प्रतियोगितामा ‘म्यान अफ द म्याच’, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट टिम कोच र उत्कृष्ट खेलाडी लगायत विधागत पुरस्कार प्रदान गरिनेछ।

विष्णु सांस्कृतिक युवा क्लब विगत दुई दशकदेखि विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमसँगै खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको आयोजकले जनाएको छ। क्लबले यसअघि विभिन्न फुटबल प्रतियोगिता तथा वडास्तरीय भेट्रान फुटबल प्रतियोगितासमेत आयोजना गरिसकेको जनाएको छ।

प्रतियोगितालाई सफल बनाउन स्थानीय सरकार, खेलकुदसम्बन्धी निकाय, संघसंस्था, व्यवसायी, सञ्चारमाध्यम, खेलप्रेमी तथा धरानवासीबाट सहयोग, सहकार्य र सहभागिताका लागि आयोजकले आग्रह गरेको छ।

प्रतियोगिताका सहभागी टोलीहरू:
१. विष्णुपादुका महिला फुटबल क्लब, धरान–२०
२. भरेौल न्यू स्टार एकेडेमी, भरेल
३. तालतलेया फुटबल क्लब, इटहरी
४. भरेल बालमन्दिर फुटबल एकेडेमी, भरेल
५. राइडचा फुटबल क्लब, केराबारी
६. धरान लेडीज फुटबल टिम, धरान
७. लेटाङ फुटबल क्लब, लेटाङ
८. रेवाहाङ फेयर फुटबल क्लब, धरान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित