धरान । धरान २० चिन्डे डाँडामा सुम्निमा पारुहाङ प्रतिमा निर्माण सहयोगार्थ ‘सुम्निमा रन–२०८३’ आगामी असोज १७ गते शनिबार हुने भएको छ।
सुम्निमा – पारुहाङ प्रतिष्ठानको आयोजनामा सुम्निमा रन हुने कुरा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।आयोजकका अनुसार सन् २०२६ अक्टोबर ३ तारिखमा आयोजना हुने दौड करिब ३ किलोमिटर दूरीको हुनेछ। दौड सर्दु खोला पुलस्थित जानकी चोकबाट सुरु भई चिण्डे डाँडामा पुगेर सम्पन्न हुनेछ। सहभागीका लागि बिहान ६ः३० बजे रिपोर्टिङ समय तोकिएको छ भने प्रवेश शुल्क ५०० रुपैयाँ निर्धारण गरिएको छ।
दौडमा १७ देखि ३९ वर्ष उमेर समूहलाई खुला, ४० देखि ५९ वर्षलाई भेट्रान र ६० वर्षमाथिकालाई सुपर भेट्रान समूहमा विभाजन गरिएको छ।
आयोजकले पहिलो २ हजार जना दर्ता भएका धावकलाई विजेता उपाधि तथा नगद पुरस्कारका लागि योग्य हुने जनाएको छ। त्यसपछि दर्ता हुने सहभागीले भने फन रन विधामा सहभागिता जनाउन पाउनेछन्।
दौड पूरा गर्ने प्रत्येक सहभागीलाई फिनिसर मेडल प्रदान गरिनेछ भने सबै सहभागीलाई एकदिने बीमा सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ। यस्तै, मौलिक तथा सांस्कृतिक पोसाकमा दौड पूरा गर्ने सहभागीलाई विशेष पुरस्कार तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।
यसैगरी, दौडको सुरुवातदेखि अन्तिम बिन्दुसम्म आफ्ना अभिभावकलाई बोकेर दौड पूरा गर्ने धावकलाई विशेष प्रमाणपत्र तथा सम्मान प्रदान गर्ने व्यवस्था गरिएको छ।
खुला पुरुष तथा महिला दुवै समूहमा प्रथम हुनेले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। भेट्रानतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार ५ सय र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सुपर भेट्रानतर्फ प्रथम हुने पुरुष तथा महिलालाई १० हजार रुपैयाँ पुरस्कार राखिएको छ।
आयोजकले दौडमा सहभागी हुन इच्छुकलाई समयमै दर्ता गरी प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ।





















Discussion about this post