बिपि कोईराला स्मृति दिवसमा कविता प्रतियोगिता, “वी.पी. र प्रजातन्त्र” शीर्षकको कविता प्रथम

धरान। ४४औँ वी.पी. स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगितामा पब्लिक हाईस्कुल, धरान–१२ मा कक्षा ११ मा अध्ययनरत तमन्ना वान्तवा राई प्रथम भएकी छन्।

धरानमा आयोजित “वी.पी. र प्रजातन्त्र” शीर्षकको कविता प्रतियोगितामा प्रथम बनेकी राईले नगद रु. ८,५००, प्रमाणपत्र, मेडल तथा वी.पी. कोइरालाद्वारा लिखित साहित्यिक पुस्तक प्राप्त गरिन्।

प्रतियोगितामा विद्या भूषण स्कुल, धरान–८ की कक्षा ११ की अर्पणा लिङ्देन लिम्बू दोस्रो भइन्। उनले नगद रु. ६,५००, मेडल र साहित्यिक पुस्तक प्राप्त गरिन्। त्यसैगरी नवोदय विद्यामन्दिर इङ्लिस स्कुल, धरान–१६ की रिदिमा भुजेल तेस्रो भइन्। उनले नगद रु. ४,५००, मेडल तथा साहित्यिक पुस्तक प्राप्त गरिन्।

सान्त्वना स्थान श्री जगन्नाथ देवराज जनता माध्यमिक विद्यालय, बराहक्षेत्र–५ का कक्षा १० का विशाल गिरी ले हासिल गरे। उनले नगद रु. ३,०००, मेडल र साहित्यिक पुस्तक प्राप्त गरे।

प्रतियोगितामा ३०० पूर्णाङ्कमध्ये प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीहरूले क्रमशः २०५, १९८, १९० र १८६ अंक प्राप्त गरेका थिए।
प्रतियोगिताको मूल्याङ्कन नेपाली लेखक संघका पूर्व केन्द्रीय सदस्य डा. गोपाल भण्डारी, पिण्डेश्वर संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा. महानन्द तिमिल्सिना तथा वरिष्ठ पत्रकार एवं नेपाली लेखक संघ सुनसरीका अध्यक्ष हर्ष सुब्बा सम्मिलित निर्णायक मण्डलले गरेको थियो।

नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा १(२) का सचिव विजय घिमिरेले सञ्चालन गरेका थिए। कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ विवश पोखरेल प्रमुख अतिथि तथा नेपाली लेखक संघ, कोशी प्रदेशका अध्यक्ष गोकुल अधिकारी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापा, नेपाल महिला संघकी केन्द्रीय सदस्य कुशुम ओली आचार्य, कार्यक्रम संयोजक भवानीप्रसाद ओझा, महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रसान राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
प्रतियोगितामा धरान र बराहक्षेत्रका विभिन्न विद्यालयका २१ जना विद्यार्थी सहभागी भएका थिए। सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र तथा वी.पी. कोइरालाद्वारा लिखित साहित्यिक पुस्तक प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको समापनमा सभापति सुजेन्द्र तामाङले प्रतियोगितामा प्रस्तुत सबै कविता उच्चस्तरीय रहेको उल्लेख गर्दै प्रतियोगितामा प्रस्तुत कविताहरू नेपाली कांग्रेसले प्रकाशन गर्ने स्मारिकामा समावेश गरी संग्रह गरिने जानकारी दिए।

कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, सरस्वती माध्यमिक विद्यालयका शिक्षक कुमार धमला तथा नेपाली कांग्रेस धरान–१ का कार्यवाहक सभापति सुमन श्रेष्ठले पनि कविता वाचन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित