विजयपुर दरबार विवाद समाधानको प्रयास जारी, भदौ ४ को वार्ता पनि निष्कर्षविहीन

धरान । विजयपुर दरबार परिसरसम्बन्धी विवाद समाधानका लागि धरान उपमहानगरपालिकाको पहलमा भएको छलफल पनि निष्कर्षविहीन भएको छ । २०८३ भदौ ४ गते सरोकारवाला पक्षहरूबीच भएको वार्तामा आ–आफ्ना अडान कायमै रहेपछि सहमति जुट्न नसकेको हो ।

नगरपालिकाले गठन गरेको विजयपुर क्षेत्र अध्ययन समितिको निर्णयअनुसार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ (कियाचु), किरात राई यायोख्खा (किराया) तथा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) उपमहानगर समन्वय परिषद् धरानका प्रतिनिधिहरूबीच छलफल भएको थियो ।
छलफलका क्रममा किराया पक्षले हटाइएको ‘वाबु’ पुनःस्थापना गर्नुपर्ने माग राखेको थियो । यता कियाचुले ऐतिहासिक आधार र आफ्नो अडान दोहोर्‍याएको थियो । विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति र कियाचुले पुनःस्थापनाको प्रयासप्रति आपत्ति जनाउँदै बाँकी रहेका संरचनासमेत अन्यत्र स्थानान्तरण गर्नुपर्ने धारणा राखेका थिए ।

वार्तामा किरायाका तर्फबाट भूपाल चाम्लिङ र प्रमिला राई, कियाचुका धरान सचिव विप्लव थोक्लेन, विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिका प्रवक्ता अमित थेबे, नेफिन धरानका सचिव कर्ण सुनुवार तथा धरान–१४ का वडाध्यक्ष कृष्ण भट्टराईले आ–आफ्ना धारणा राखेका थिए ।

दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि कार्यवाहक मेयर आईन्द्र विक्रम बेघाले इतिहास, तथ्य, दस्तावेज र विज्ञहरूको अध्ययनका आधारमा विवादको समाधान खोज्नुपर्ने बताएका छन् ।

वार्ताबाट तत्काल निष्कर्ष ननिस्किए पनि आगामी चरणमा पुनः छलफल गर्ने सहमतिसहित बैठक सम्पन्न भएको छ । यससँगै विजयपुर दरबार परिसरको विवाद समाधानका लागि संवाद र छलफलको प्रक्रिया भने जारी रहने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित