विजयपुर विवादमा ‘फुटाऊ र शासन गर’ रणनीतिबाट टाढा रहन अपिल

धरान । विजयपुर क्षेत्रलाई लिएर धरानमा देखिएको विवादलाई लिएर विभिन्न पक्षले आपसी सद्भाव, सहनशीलता र संवादमार्फत समस्या समाधान गर्न अपिल गरेका छन्।

‘विजयपुर धरान विवाद सम्बन्धमा हाम्रो अपिल’ शीर्षकमा जारी गरिएको अपिलमा नेपालको गौरवशाली राज्यका रूपमा विजयपुरको ऐतिहासिक पृष्ठभूमि रहेको उल्लेख गर्दै आधुनिक नेपालको निर्माण प्रक्रियामा किरात, लिम्बू तथा अन्य आदिवासी जनजातिको योगदानलाई स्मरण गरिएको छ।

अपिलमा आदिवासी जनजातिको अधिकार, पहिचान र ऐतिहासिक योगदानका विषयमा भएका विभिन्न आन्दोलन तथा उपलब्धिको चर्चा गर्दै पछिल्लो समय विजयपुर क्षेत्रलगायत विभिन्न स्थानमा भौतिक तथा सांस्कृतिक सम्पदालाई लिएर विवाद उत्पन्न भएको उल्लेख गरिएको छ।

अपिलकर्ताहरूले कुनै पनि समुदायको आस्था, पहिचान वा सांस्कृतिक सम्पदामाथि हस्तक्षेप नगरी संवाद र सहमतिको बाटोबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

अपिलमा पछिल्लो समय धरान–१४ स्थित विजयपुर क्षेत्रमा विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक संरचना निर्माण गर्ने विषयमा देखिएको विवादले सामाजिक सद्भावमा असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

विशेषगरी राई–लिम्बूबीच द्वन्द्व उत्पन्न हुने अवस्था सिर्जना नगर्न आग्रह गर्दै अपिलमा राजनीतिक स्वार्थका लागि आदिवासी जनजाति समुदायलाई विभाजन गर्ने ‘फुटाऊ र शासन गर’ रणनीतिबाट सबै पक्ष सचेत रहनुपर्ने उल्लेख छ।

राई, याक्खा र लिम्बू समुदायका अगुवाहरू, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, विजयपुर संरक्षण समितिलगायत सम्बन्धित संघ–संस्था तथा व्यक्तिहरूलाई समस्या समाधानका लागि संवाद र सहमतिको वातावरण निर्माण गर्न अपिल गरिएको छ।

अपिलमा भनिएको छ कि कुनै पनि विवाद समाधान गर्न एकअर्कालाई दोषारोपण गर्नुको सट्टा विगतमा भएका सहमति, समझदारी तथा सम्बन्धित तथ्य–प्रमाणको आधारमा अघि बढ्न आवश्यक छ। विगतमा आफूले भोगेको सम्बन्ध, सद्भाव र सहनशीलताको भावना कायम राख्न पनि आग्रह गरिएको छ।

त्यसैगरी धरान उपमहानगरपालिकाले समस्या समाधानका लागि गरिरहेको पहल सकारात्मक रहेको भन्दै राज्यको दायित्व भएको स्थान र विशेष महत्व बोकेको विषयमा समयमै नीतिगत तथा व्यावहारिक उपाय अवलम्बन गरी समाधान खोज्न आग्रह गरिएको छ।
अपिलमा आदिवासी जनजातिका राजनीतिक, सामाजिक, सांस्कृतिक हक–अधिकारका विषयमा आ–आफ्नै बुझाइ हुन सक्ने भन्दै तथ्य र प्रमाणलाई अन्य स्रोत तथा खोजबाट स्थापित आधिकारिक तथ्यसँग समेत पुष्टि गरी साझा निष्कर्षमा पुग्न आवश्यक अध्ययन र अनुसन्धानको खाँचो रहेको उल्लेख गरिएको छ।
विजयपुर क्षेत्रको विवादलाई समुदायबीचको द्वन्द्वमा परिणत हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने र आपसी संवाद, सहमति तथा सामाजिक सद्भाव कायम राख्दै समाधानको बाटो खोज्नुपर्ने अपिलमा जोड दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित