डा. भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रित गर्ने गरी सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट भ्रमपूर्ण प्रचार भइरहेको भन्दै उनको सचिवालयले गम्भीर आपत्ति जनाएको छ।

पूर्वप्रधानमन्त्री भट्टराईको सचिवालयले २०८३ असार ६ गते जारी गरेको ‘गम्भीर ध्यानाकर्षण पत्र’मार्फत केही व्यक्ति तथा समूहले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले बहुसंख्यक हिन्दु धर्मावलम्बीको धार्मिक आस्थालाई प्रयोग गरी डा. भट्टराईलाई हिन्दुविरोधीका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको जनाएको हो।
सचिवालयका अनुसार पुराना अभिव्यक्ति तथा सामग्रीलाई तोडमरोड गर्ने, भ्रामक तस्बिर तथा पोस्टर बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने र धार्मिक घृणा तथा सामाजिक विभाजन फैलाउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको छ।

पत्रमा धर्मनिरपेक्षता कुनै धर्मको विरोध नभएको स्पष्ट पार्दै राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नुपर्ने उल्लेख गरिएको छ। प्रत्येक नागरिकलाई आफ्नो धर्म मान्ने वा नमान्ने स्वतन्त्रता सुनिश्चित गर्नु धर्मनिरपेक्षताको मूल मर्म भएको सचिवालयको भनाइ छ।

त्यसैगरी विज्ञानमा विश्वास गर्ने, वैज्ञानिक दृष्टिकोण अपनाउने वा नास्तिक हुने विषय प्रत्येक व्यक्तिको वैचारिक स्वतन्त्रताको विषय रहेको उल्लेख गर्दै कुनै धर्म वा धार्मिक समुदायविरुद्धको गतिविधिका रूपमा त्यसलाई प्रस्तुत गर्नु अनुचित हुने सचिवालयले जनाएको छ।

हिन्दु धर्मभित्र रहेका जातीय विभेद तथा सामाजिक असमानताका विषयमा डा. भट्टराईले विगतमा उठाएका प्रश्न तथा आलोचनालाई समेत तोडमरोड गरी धार्मिक समुदायविरुद्धको घृणाका रूपमा व्याख्या गर्ने प्रयास भइरहेको सचिवालयको आरोप छ। सामाजिक न्याय र समानताको पक्षमा गरिएका बहसलाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको घृणाका रूपमा प्रस्तुत गर्न नहुने उसले जनाएको छ।

सचिवालयले डा. भट्टराईका विचार तथा अभिव्यक्तिलाई समग्र सन्दर्भबाट अलग गरेर पुराना सामग्रीको तोडमरोड तथा भ्रामक व्याख्या गर्नु गैरजिम्मेवार राजनीतिक तथा सामाजिक व्यवहार भएको बताएको छ।

पछिल्लो समय केही व्यक्तिहरूले धर्मका नाममा भय र ध्रुवीकरण सिर्जना गर्ने सामग्री पोस्ट गर्ने तथा योजनाबद्ध रूपमा ‘कन्टेन्ट सेटिङ’ र भ्रामक भाष्य निर्माणमा सक्रिय रहेको दाबी गर्दै सचिवालयले यस्ता गतिविधिले व्यक्तिको सुरक्षा र प्रतिष्ठामात्र नभई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतामा समेत गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ।

सचिवालयले धार्मिक तथा सामाजिक सद्भावमा खलल पु¥याउने उद्देश्यले फैलाइएका भ्रामक तथा तोडमरोड गरिएका सामग्रीबाट आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ। साथै यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहको गतिविधिमाथि नेपाल सरकारले गम्भीर निगरानी राखी आवश्यक अनुसन्धान गर्न र प्रचलित कानुनबमोजिम कारबाही अघि बढाउन आग्रह गरेको छ।
अभिव्यक्ति तथा वैचारिक स्वतन्त्रताको सम्मान गर्दै कसैको धार्मिक आस्था, व्यक्तिगत सुरक्षा, प्रतिष्ठा तथा सामाजिक सद्भावमाथि आघात पु¥याउने गतिविधि रोक्न राज्यले आवश्यक कानुनी हस्तक्षेप गर्नुपर्ने सचिवालयको माग छ।

सचिवालयले घृणा, हिंसा र सामाजिक विभाजन फैलाउने प्रयासलाई निरुत्साहित गरी धार्मिक स्वतन्त्रता, वैचारिक स्वतन्त्रता, वैज्ञानिक चेतना, सामाजिक न्याय र सहिष्णुताको रक्षा गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित