छुजुङ जलविद्युत आयोजनाविरुद्ध स्थानीयको आपत्ति,सांग्रीला उर्जाको भारि विष्फोटले हिमतालदेखि सांस्कृतिक सम्पदासम्म जोखिममा परेको दाबी

काठमाडौ । संखुवासभाको भोटखोला क्षेत्रमा निर्माणको प्रक्रियामा रहेको छुजुङ जलविद्युत आयोजनाले वातावरणीय, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा गम्भीर असर पार्न सक्ने भन्दै स्थानीय अभियन्ता तथा समुदायका अगुवाले आपत्ति जनाएका छन्।

स्थानीय सामाजिक अभियन्ता कर्मा भोटियाले आयोजनाका लागि भइरहेको निर्माण तथा सडक विस्तारका क्रममा ठूलो मात्रामा विस्फोट र भू–भाग कटान भइरहेको दाबी गर्दै यसले आयोजनाको आसपास रहेका हिमताल तथा संवेदनशील भू–भागमा जोखिम बढाएको बताएका छन्।

भोटियाका अनुसार आयोजनाको आसपास करिब ३ देखि ५ किलोमिटर क्षेत्रमा मात्रै ३१–३२ वटा हिमताल रहेको र तीमध्ये केही उच्च जोखिममा रहेका छन्। सांग्रीला उर्जा कम्पनीले आयोजनाका क्रममा ठूलो परिमाणमा विस्फोटक पदार्थ प्रयोग गरिएमा त्यसको असर हिमताल तथा आसपासका बस्तीमा पर्न सक्ने उनको दाबी छ। उनले उक्त बिष्फोटले ५० किलोमीटरसम्म क्षति पुग्ने भन्दै छिमेकि देश चीन र भारतमा समेत असर पार्ने भन्दै ती देश चुप लागेर बस्ला त भनेर प्रश्न गरे ।

उनले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) मा उल्लेख गरिएको भू–क्षेत्र र स्थलगत रूपमा भइरहेको कटान तथा प्रयोगबीच ठूलो अन्तर रहेको आरोपसमेत लगाए। ईआईएमा सीमित क्षेत्र उल्लेख गरिए पनि व्यवहारमा करिब १ हजार ८ सय हेक्टर क्षेत्र प्रभावित हुने गरी काम भइरहेको उनको दाबी छ।

भोटियाले आयोजनाका कारण चौरीपालनमा निर्भर स्थानीय समुदायको परम्परागत जीवनशैली र आम्दानीमा समेत असर पर्ने बताए। उनका अनुसार उक्त क्षेत्रमा हजारौँ चौरीपालक तथा चौरी रहेको र चौरीपालन स्थानीय समुदायको प्रमुख जीविकोपार्जनमध्ये एक हो।

उनले भोटखोला क्षेत्रलाई स्थानीय तहले सांस्कृतिक तथा पर्यटकीय दृष्टिले विशेष क्षेत्रका रूपमा अघि बढाएको उल्लेख गर्दै त्यही क्षेत्रमा ठूला जलविद्युत आयोजना तथा अन्य पूर्वाधार निर्माण गर्दा स्थानीय कानुन, वातावरणीय प्रभाव र समुदायको अधिकारलाई बेवास्ता गर्न नहुने बताए।

“हाम्रो लागि खोला केवल पानीको स्रोत होइन, धर्म, संस्कृति र आस्थासँग जोडिएको सम्पदा हो,” भोटियाले भने, “बरुणदेखि अरुणसम्मका खोला, हिमाल र प्राकृतिक सम्पदासँग स्थानीय समुदायको गहिरो सम्बन्ध छ।”
आयोजनाको वातावरणीय अध्ययनका क्रममा प्रभावित क्षेत्रका सबै घरधुरी तथा समुदायको वास्तविक सहभागिता नभएको आरोप पनि उनले लगाए। प्रभावित क्षेत्रका करिब ३१५ घरधुरीमध्ये सीमित व्यक्तिलाई मात्र सहभागी गराएर वातावरणीय अध्ययनको प्रक्रिया अघि बढाइएको र केही हस्ताक्षरसमेत विवादास्पद रहेको उनको दाबी छ।

भोटियाले आयोजनासँग सम्बन्धित कागजात तथा हस्ताक्षर संकलन प्रक्रियामाथि समेत प्रश्न उठाउँदै यस विषयमा सम्बन्धित सरकारी निकायले स्थलगत छानबिन गर्नुपर्ने माग गरे।

उनले भोटखोलामा जलविद्युत आयोजना मात्रै विस्तार गर्दै जाने हो भने दीर्घकालीन रूपमा पर्यटन, चौरीपालन, संस्कृति र प्राकृतिक सम्पदामा क्षति पुग्ने चेतावनी दिए। उनका अनुसार विकासका नाममा प्राकृतिक सम्पदा नष्ट गर्नुको सट्टा स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने र वातावरण संरक्षण हुने दिगो विकासको मोडल आवश्यक छ।

भोटियाले नेपाल सरकारले ठूलो परिमाणमा विद्युत उत्पादनको लक्ष्य अघि सारे पनि उत्पादित विद्युतको बजार, खरिद सुनिश्चितता, ऋणको भार तथा आयोजनाबाट हुने दीर्घकालीन लाभबारे समेत स्पष्ट योजना आवश्यक रहेको बताए।

उनले छुजुङलगायत संवेदनशील क्षेत्रमा कुनै पनि निर्माण कार्य अघि बढाउँदा हिमताल, भूगोल, वातावरण, स्थानीय संस्कृति र समुदायको जीविकोपार्जनमा पर्ने जोखिमबारे स्वतन्त्र विज्ञबाट अध्ययन गराउनुपर्ने माग गरे।

भोटियाले स्थानीयको आवाजलाई बेवास्ता गरिए आयोजनाविरुद्धको संघर्ष निरन्तर जारी राख्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित