सङ्खुवासभा। भोटखोला गाउँपालिका–३ अन्तर्गत हुङ्गुङ–छेसुम्बा–किमाथाङ्का कृषि सडक निर्माणका लागि विनियोजन गरिएको बजेट कार्यान्वयन नगरी फ्रिज गरिएको आरोप लगाउँदै स्थानीय सरोकार समितिले आन्दोलनको चेतावनी दिएको छ।
हुङ्गुङ–छेसुमवा–किमाथाङ्का कृषि सडक सरोकार समितिका संयोजक बाबा साहभु भोटेद्वारा जारी ज्ञापनपत्रमा आर्थिक वर्ष २०८२/०८३ मा कोशी प्रदेश सरकार र भोटखोला गाउँपालिकाको समपुरक बजेटबाट रु. १ करोड ६० लाख विनियोजन भए पनि गाउँपालिकाले योजना कार्यान्वयन नगरी बजेट फ्रिज गरेको उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा गाउँपालिका अध्यक्षले थप बजेट आउने आश्वासन दिए पनि आर्थिक वर्ष २०८३/०८४ मा संघ तथा प्रदेश सरकारबाट उक्त योजनाका लागि कुनै बजेट विनियोजन नभएको दाबी गरिएको छ। यस विषयमा स्थानीय जनप्रतिनिधि र सरोकार समितिले समेत खोजबिन गर्दा बजेट नआएको जानकारी प्राप्त भएको जनाइएको छ।
समितिका अनुसार योजना कार्यान्वयन नहुँदा करिब ५५० घरधुरी प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। साथै, सडक निर्माणका नाममा अन्यत्र बजेट खर्च गरिएको तथा निर्णय प्रक्रियामा अनियमितता भएको आशंका व्यक्त गर्दै सम्बन्धित निकायबाट निष्पक्ष छानबिन र आवश्यक कारबाहीको माग गरिएको छ।
ज्ञापनपत्रमा प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य सम्बन्धित निकायमार्फत योजनाको वास्तविक अवस्था छानबिन गर्न माग गरिएको छ। साथै, सम्बन्धित पक्षबाट समस्या समाधानका लागि पहल नभए आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी दिइएको छ।
समितिले पहिलो चरणमा गाउँपालिका तथा वडा कार्यालयमा तालाबन्दी गर्ने र त्यसपछि प्रतिकारात्मक आन्दोलन सञ्चालन गर्ने जनाएको छ।





















Discussion about this post