अपर अरुण जलविद्युत आयोजनाबाट प्रभावित २२ गाउँमा आर्थिक विकास सर्वेक्षण सम्पन्न

भोटखोला (संखुवासभा ) । अपर अरुण जलविद्युत आयोजनाको आर्थिक सहयोग तथा आदिवासी जनजाति सल्लाहकार परिषद् (एजाक–AJAC) को समन्वयमा भोटखोला गाउँपालिकाका २२ वटा प्रभावित गाउँमा आर्थिक विकाससम्बन्धी सर्वेक्षण तथा सरोकारवालासँगको अन्तरक्रिया सम्पन्न भएको छ।

आदिवासी जनजाति योजना (IPP) अन्तर्गत आर्थिक विकास विभागमार्फत सञ्चालन भइरहेको सर्वेक्षणको दोस्रो चरणमा आर्थिक विज्ञ डा. तेज हरि घिमिरेसहितको टोलीले स्थानीय कृषक, व्यवसायी, युवा उद्यमी तथा अन्य सरोकारवालासँग प्रत्यक्ष छलफल गरेको हो।

पहिलो चरणमा २२ वटै प्रभावित गाउँका सरोकारवालासँग छलफल गरिएको थियो। त्यसपछि दोस्रो चरणमा गाउँमै पुगेर स्थानीयको आर्थिक अवस्था, सम्भावना, चुनौती र विकासका आवश्यकताबारे जानकारी संकलन गरिएको जनाइएको छ।

२२ गाउँका ३०८ घरधुरीको सर्वेक्षण

एजाकका कर्मचारी तथा सुपरभाइजरमार्फत २२ वटै गाउँका ३०८ घरधुरीको सर्वेक्षण सम्पन्न गरिएको छ। सर्वेक्षणका लागि COBO Toolbox मोबाइल सफ्टवेयर प्रयोग गरिएको थियो।

दोस्रो चरणको भ्रमण २०८३ असोज ४ गतेदेखि असोज १३ गतेसम्म सञ्चालन भएको थियो। यस अवधिमा स्थानीय बासिन्दासँग छलफल तथा अन्तरक्रिया गर्नुका साथै गाउँपालिकाका प्रमुख र अन्य प्रतिनिधिसँग पनि भेटघाट गरिएको थियो।

आयोजनाबाट प्रभावित क्षेत्रको मात्र नभई समग्र पालिकाको आर्थिक विकासमा जोड

छलफलका क्रममा आर्थिक विज्ञ डा. घिमिरेले प्रस्तावित योजनाले जलविद्युत आयोजनाबाट प्रभावित गाउँहरूको विकासमा मात्र सीमित नभई समग्र भोटखोला गाउँपालिकाको आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्य राखेको जानकारी गराएका थिए।

स्थानीय कृषक, व्यवसायी र युवा उद्यमीसँग गरिएको अन्तरक्रियाले स्थानीयस्तरमा उपलब्ध आर्थिक अवसर पहिचान गर्न तथा सम्भावित विकासका योजना निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भोटखोला क्षेत्रका स्थानीय स्रोतसाधन, उत्पादन, व्यवसाय तथा उद्यमशीलताको सम्भावनालाई समेटेर आर्थिक विकासका कार्यक्रम अघि बढाउन स्थानीय सरोकारवालाको सहभागितालाई महत्त्व दिइएको जनाइएको छ।

तेस्रो चरणमा मुख्य सरोकारवालाबीच छलफल हुने

सर्वेक्षण तथा स्थलगत छलफलका चरण पूरा भएपछि अब जलविद्युत आयोजना, स्थानीय सरकार र आदिवासी जनजाति सल्लाहकार परिषद् (AJAC) बीच मुख्य छलफल तथा गोष्ठी आयोजना गर्ने तयारी गरिएको छ। उक्त कार्यक्रम छिट्टै सम्पन्न गरिने जानकारी दिइएको छ।

भोटखोलाका २२ वटै गाउँको भ्रमणका क्रममा टोलीले क्षेत्रका प्राकृतिक सुन्दरता तथा भौगोलिक अवस्थाको समेत अवलोकन गरेको थियो।

स्थानीय आवश्यकताको पहिचान, आर्थिक अवसरको खोजी र सरोकारवालाबीचको समन्वयका आधारमा अघि बढाइने योजनाले भोटखोला गाउँपालिकाको समग्र आर्थिक विकासमा कस्तो योगदान पुर्‍याउँछ भन्ने विषय आगामी छलफल तथा योजनाको कार्यान्वयनसँग जोडिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित