संखुवासभा । भोटखोला गाउँपालिकाको वडा नं. २ स्थित तुम्सुर सडकखण्डमा गएको पहिरोका कारण अवरुद्ध सडक खुलाउन आज उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालय खाँदबारीमा समन्वय बैठक बसेको छ।
आयोजना प्रमुख डिई रामबहादुर गुरुङको अध्यक्षतामा तथा भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर लामासहित सम्बन्धित प्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकले दुई महत्वपूर्ण निर्णय गरेको छ।
बैठकका निर्णयअनुसार २०८३ सालको वर्षा र पहिरोका कारण भोटखोला गाउँपालिका–२ को तुम्सुर सडकखण्डमा नेपाली सेनाबाट वैशाखमा हस्तान्तरण भएको सडकमा पुनः कडा विशाल चट्टानको पहिरो खसेर राजमार्ग अवरुद्ध भएको अवस्थालाई ध्यानमा राख्दै पहिरो खोल्ने कार्य अघि बढाइने भएको छ।
पहिरो खोल्न सडकखण्डमा प्रयोग गर्नुपर्ने उपकरणबाट सम्भव नभएकाले नेपाली सेनासँग समन्वय गरी विस्फोटक पदार्थ प्रयोग गरेर चट्टान फुटाई राजमार्ग सञ्चालनमा ल्याउन अनुरोध गर्ने निर्णय भएको छ। उक्त कार्यका लागि उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयले समन्वय तथा सहजीकरण गर्ने र स्थानीय पालिकाले आवश्यक सहयोग गर्ने सहमति भएको छ।
त्यस्तै, हाल स्तरोन्नतिको क्रममा रहेका सडकखण्डमा निर्माण व्यवसायीबाट चाडपर्वअघि नै यातायात सञ्चालन गर्न सहज र योग्य सडक निर्माण गर्न निर्देशन दिने निर्णय गरिएको छ। ठेक्का नभएका सडकखण्डमा आयोजना कार्यालयबाट विभागीय उपकरण वा भाडामा उपकरण लिएर तथा चालु ठेक्काबाट उपकरण परिचालन गरी यातायात आवागमन सहज र सुरक्षित बनाउने निर्णयसमेत भएको छ।
भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर लामाले समन्वय बैठकमार्फत सडक सञ्चालन तथा स्थानीय यातायात सहज बनाउन महत्वपूर्ण निर्णय भएको जानकारी दिएका छन्।





















Discussion about this post