भन्सार र सीमा प्रशासन पुनर्स्थापनाको पहल, किमाथांका भन्सारद्वारा माथिल्लो निकायमा पत्राचार

संखुवासभा । संखुवासभाको उत्तरी सीमा क्षेत्र किमाथांकामा भन्सार तथा सीमा प्रशासन पुनर्स्थापनाको मागसँगै सम्बन्धित निकायबीच पत्राचार अघि बढेको छ । भोटखोला गाउँपालिकाले पत्राचार सम्बन्धी समाचार चिसेफायुले प्रशारण गरेपछि किमाथांका भन्सारले माथिल्लो निकायमा पहल पत्राचार भएको प्रक्रिया सहितको जनकारी दिएको छ ।

किमाथांका भन्सार कार्यालयले कार्यालय पुनःस्थापना तथा आवश्यक पूर्वाधार व्यवस्थापनका विषयमा माथिल्लो निकायमा पत्राचार भइरहेको जनाएको छ।
जिल्ला राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकले किमाथांका भन्सार कार्यालयलाई सीमा क्षेत्रमा पुनःस्थापना गर्न भन्सार विभागलाई अनुरोध गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय, संखुवासभाले भन्सार विभाग, त्रिपुरेश्वर काठमाडौंलाई बैठकको निर्णय पठाउँदै कार्यान्वयनका लागि अनुरोध गरेको जनाएको छ ।

हाल किमाथांका भन्सार कार्यालय सदरमुकाम खाँदबारीमा रहेर भन्सारसम्बन्धी कामकारबाही सञ्चालन गर्दै आएको पत्रमा उल्लेख छ। किमाथांका नाकाबाट स्थानीय बासिन्दाले दैनिक उपभोग्य सामग्री तथा व्यापारीहरूले व्यापारिक सामग्री आयात गर्ने क्रम बढिरहेको भन्दै सीमा नाकामै भन्सार कार्यालय आवश्यक रहेको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयको निर्णयमा सीमा नाकामा भन्सार कार्यालय रहँदा सदरमुकाम खाँदबारीमा रहेको कार्यालयको तुलनामा भन्सार बुझाई सामान आयात–निर्यात गर्ने व्यवसायीलाई सहज हुने तथा राजस्व संकलनमा समेत वृद्धि हुने उल्लेख गरिएको छ।

त्यस्तै, किमाथांका भन्सार कार्यालयले भन्सार विभागलाई पठाएको पत्रमा किमाथांका नाका रणनीतिक तथा सम्भावनायुक्त भन्सार बिन्दु रहेको उल्लेख गर्दै जनसंख्या र वस्तु कारोबारको चाप बढ्दै गएको जनाएको छ। नाकामा भन्सार कार्यालय स्थापना भए चोरी तथा अवैध कारोबार नियन्त्रणमा समेत सहयोग पुग्ने कार्यालयको भनाइ छ।

भन्सार कार्यालयले किमाथांकामा भौतिक पूर्वाधार यथाशीघ्र व्यवस्थापन गरी दीर्घकालीन रूपमा कार्यालय स्थापना गर्न आवश्यक देखिएको भन्दै भन्सार विभागसमक्ष पुनः अनुरोध गरेको छ।

यसैबीच, किमाथांका भन्सार कार्यालयलाई तत्काल सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधार उपलब्ध गराउने विषयमा भोटखोला गाउँपालिका–४, स्याक्सिला गोलाको वरुण दोभान बजारमा घर भाडामा लिएर कार्यालय सञ्चालन गर्न सकिने विकल्पसमेत जिल्ला राजस्व चुहावट नियन्त्रण समन्वय समितिको निर्णयमा उल्लेख गरिएको छ।

यसले किमाथांका नाकामा भन्सार तथा सीमा प्रशासन पुनर्स्थापनाको प्रक्रिया प्रारम्भिक चरणमा अघि बढेको संकेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित