काठमाडौं । बाढी तथा विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्यलाई नेपाली सेनाले तीव्रता दिएको छ। नेपाली सेनाले २०८३ भदौ २० गते दिउँसो १ बजेसम्मको विवरण सार्वजनिक गर्दै हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार, सुरुङमा फसेकाहरूको उद्धार, राहत सामग्री ढुवानी तथा आपत्कालीन उपचारलाई निरन्तरता दिइरहेको जनाएको छ।
नुवाकोटको देवीघाटमा पुल निर्माण तीव्र
नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले एक्रो ब्रिज निर्माणको काम तीव्र रूपमा अघि बढाएको छ। सेनाले ६० मिटर लामो, ५.५ मिटर चौडा र ५० टन क्षमताको पुल ढुवानी गरी निर्माण कार्य अगाडि बढाइरहेको जनाएको छ।
हवाई माध्यमबाट १७ जनाको उद्धार
नेपाली सेनाले हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट १७ जनाको उद्धार गरेको छ। भदौ २० गते दिउँसो १ बजेसम्म हवाई खोज तथा उद्धार अभियान जारी रहेको सेनाले जनाएको छ।
सुरुङभित्र खोज तथा उद्धार जारी
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ। नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बलका १८ जनासहितको टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।
त्यस्तै, त्रिशूली–३ बीको सुरुङमा नेपाली सेनाका ८९, गैरसैनिक ३ जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले Bobcat र जेनेरेटरको प्रयोग गरी खोजी कार्य गरिरहेको छ।
चिलिमे हाइड्रोको सुरुङमा १०५ मिटरभित्र पुगेर खोजी
चिलिमे हाइड्रोपावरको सुरुङमा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले Mini Excavator र Mud Pump प्रयोग गरी सुरुङभित्रको लेदो हटाउने काम गरिरहेको छ। टोली पुनः सुरुङको १०५ मिटरभित्रसम्म पुग्न सफल भएको सेनाले जनाएको छ।
माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा पनि नेपाली सेनाका २० जना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले Compressor लगायतका उपकरण प्रयोग गरी २५० मिटरसम्म भित्र पुगेर खोजी गरिरहेको छ। सुरुङमा रहेको लेदो हटाउने कामसमेत जारी रहेको छ।
मैलुङदेखि स्याफ्रूबेसीसम्म पैदल गस्ती
प्रभावित क्षेत्रको मैलुङदेखि स्याफ्रूबेसीसम्म पैदल गस्तीमार्फत खोज तथा उद्धार कार्य भइरहेको छ। नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट हालसम्म ३ हजार २ सय ६६ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ९ हजार ३ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्।
उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने र आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन्।
नेपाली सेनाले उपलब्ध गराएको आधिकारिक विवरणअनुसार खोज तथा उद्धार अभियान प्रभावित क्षेत्रमा निरन्तर सञ्चालन भइरहेको छ।




















Discussion about this post