विराटनगर। द काउन्सिल अफ जेन–जी, प्रदेश नं. १ ले ताप्लेजुङस्थित मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा प्रस्तावित केबलकार निर्माणप्रति गम्भीर आपत्ति जनाएको छ। संस्थाले उक्त क्षेत्र स्थानीय आदिवासी जनजातिको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको पवित्र स्थल भएकाले कुनै पनि ठूला भौतिक संरचना निर्माण अस्वीकार्य हुने स्पष्ट पारेको छ।
विज्ञप्तिमा आदिवासी जनजातिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, संयुक्त राष्ट्रसंघीय घोषणापत्र तथा नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हकको उल्लङ्घन हुने दाबी गरिएको छ। केबलकार निर्माणले वातावरण, जैविक विविधता, धार्मिक आस्था र सांस्कृतिक अस्तित्वमा गम्भीर असर पार्ने जनाइएको छ।
संस्थाले सरकारसँग केबलकार योजना तत्काल रद्द गर्न, स्थानीय समुदायसँग पूर्वसहमति बिना कुनै विकास कार्य नगर्न, आन्दोलनमा संलग्न नागरिकमाथि लगाइएका मुद्दा फिर्ता लिन तथा घाइतेहरूको उपचार र क्षतिपूर्ति सुनिश्चित गर्न माग गरेको छ।
साथै, मुक्कुम्लुङको संरक्षण राज्यको दायित्व भएको उल्लेख गर्दै लोकतान्त्रिक र संवैधानिक मूल्यविपरीत हुने कुनै पनि कदम अस्वीकार्य हुने चेतावनी दिइएको छ।





















Discussion about this post