धरानमा विद्यालयमा भएको भनिएको अभद्र व्यवहारप्रति नेचर क्लबको ध्यानाकर्षण,शिक्षा क्षेत्रमा मर्यादा कायम गर्न नेचर क्लबको आग्रह

नबिन सेन्चुरी
धरान । धरानस्थित नेचर क्लब ले एक प्रेस विज्ञप्ति जारी गर्दै धरान उपमहानगरपालिका क्षेत्रभित्रको एक विद्यालयमा अभिभावकप्रति गरिएको भनिएको अभद्र तथा असभ्य व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा शिक्षा क्षेत्रलाई मर्यादित, संवेदनशील र उत्तरदायी क्षेत्रका रूपमा उल्लेख गर्दै विद्यालय प्रशासन, शिक्षक तथा सम्बन्धित पक्षहरूले अभिभावकसँग सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिइएको छ।

क्लबले घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी पाइए आवश्यक कारबाही अगाडि बढाउन सम्बन्धित निकायसँग माग गरेको छ।
त्यस्तै, विद्यालय परिसरलाई संवाद, सहकार्य र विश्वासको वातावरण कायम गर्ने थलो बनाउनुपर्ने उल्लेख गर्दै अभिभावक, विद्यार्थी र सरोकारवालाबीच जिम्मेवार तथा पारदर्शी संवादको आवश्यकता औंल्याइएको छ।

नेचर क्लबले घटनामा संलग्न पक्षबाट सार्वजनिक रूपमा क्षमायाचना, स्थानीय शिक्षा प्रशासनबाट गम्भीर छानबिन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न आग्रह गरेको छ। साथै, शिक्षा क्षेत्रमा देखिएका विकृति, अनियमितता र अभिभावकमाथि हुने आर्थिक तथा मानसिक दबाबका विषयमा पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शैक्षिकसत्र शुरु भएपछि धरान उपमहानगरले शुल्क निर्धारण गरेका थिए । शुल्क निर्धारण भन्दा बढि लिएको निर्धारण समितिमा समावेशी समेत नभएको भन्दै प्रमाण सहित संजिता धमाल सहितले उपमहानगर शिक्षा महाशाखा कार्यवाहक मेयर प्रमुख प्रशासकीय अधिकृतको ध्यानाकर्षणसंगै तत्काल पत्राचार समेत भएका थिए ।

धमलाले प्रमुख प्रशासकीय अधिकृतको भनाई उदृत गर्दै संजालमा लेखेका छन – “धरानका नयाँ प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईले सिधै चुनौती दिएका छन्—”राजनीतिक हस्तक्षेप नभए १५ दिनमै शिक्षा नियमावली बनाएर विकृति बन्द गरिदिन्छु।”

यो धरानका राजनीतिक दलहरूका लागि एउटा नाङ्गो ऐना हो। हाम्रो सरकारी शिक्षा थला पर्नुको मुख्य कारण नै यही राजनीतिक भागबन्डा र हस्तक्षेप हो। अधिकृत राईको यो आँटले के प्रस्ट पार्छ भने, हाम्रा सरकारी निकायमा योजना र क्षमताको कमी छैन, कमी छ त केवल सफा नियतको ।

यदि एउटा प्रशासक १५ दिनमा शिक्षाको बेथिति रोक्न तयार छ भने, धरानबासीले अब दलहरूलाई सिधा सोध्ने बेला आएको छ,तपाईंहरू धरानका बालबालिकाको भविष्य सुधार्न अधिकृत लाई काम गर्न दिनुहुन्छ कि आफ्नो स्वार्थका लागि खुट्टा तान्नुहुन्छ?
अब पालो धरानबासीको हो। काम गर्न खोज्ने प्रशासकलाई नागरिक स्तरबाट दह्रो साथ चाहिन्छ, ताकि कुनै पनि राजनीतिक शक्तिले उनको बाटोमा तगारो हाल्ने आँट नगरोस्। बेथिति विरुद्ध बोलौँ, सही अभियानलाई साथ दिऊँ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित