विजयपुर दरबार वार्ता निष्कर्षविहीन, दुवै पक्ष आ–आफ्नो अडानमा

धरान । विजयपुर दरबार परिसरमा देखिएको विवाद समाधानका लागि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाको पहल तथा जिल्ला प्रशासन कार्यालय सुनसरीको समन्वयमा भएको दुई पक्षीय संवाद निष्कर्षविहीन भएको छ।

२०८३ भदौ १ गते सोमबार बिहान कार्यवाहक मेयर बेघाले विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ (कियाचु) र किरात राई यायोक्खा (किराया) बीच संवाद गराएका थिए। बिहानको छलफल निष्कर्षमा पुग्न नसकेपछि सोही दिन दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय इनरुवामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको आग्रहमा पुनः दुई पक्षबीच संवाद भएको थियो।

संघर्ष समितिका प्रवक्ता अमित थेबेका अनुसार जिल्ला प्रशासन र सुरक्षा निकायले विजयपुर दरबार परिसरमा भइरहेको विवादलाई संवेदनशील रूपमा लिएको महसुस भएको छ। पछिल्लो समय जिल्लाको दक्षिणी भेग देवानगञ्ज (कप्तानगञ्ज) मा साउन ११ गते भएको घटनालाई समेत मध्यनजर गर्दै प्रशासनले शान्ति सुरक्षामा उच्च सतर्कता अपनाएको देखिएको उनको भनाइ छ।

संवादका क्रममा दुवै पक्षले संयमित रूपमा आ–आफ्ना धारणा राख्दै समस्या समाधानका लागि गम्भीर रहने प्रतिबद्धता जनाएका थिए। तर, विवादका मूल विषयमा सहमति जुट्न नसकेपछि वार्ता निष्कर्षविहीन बनेको संघर्ष समितिले जनाएको छ।

चिन्डो पुनःस्थापनाको विषयमा किरायाको अडान

संवादमा किरात राई यायोक्खाले विजयपुरमा रहेको चिन्डो आफ्नो आस्थाको धरोहर भएको दाबी गर्दै साविक स्थानमै पुनःस्थापना गर्नुपर्ने अडान दोहोर्‍याएको थियो। चिन्डो पुनःस्थापना भएपछि मात्रै ठोस वार्तामा बस्न सकिने किरायाको धारणा रहेको संघर्ष समितिले जनाएको छ।

किरायाले विजयपुरसँग आफ्ना पुर्खाहरूको सम्बन्ध गाँसिएको दाबीसमेत गर्दै आएको छ। संवादमा किराया सुनसरीका अध्यक्ष राजेन्द्र राई, सचिव शम्भु राई ‘पृथक’, नगर अध्यक्ष लीला राई, हेमन राई, भूपाल राईलगायत सहभागी थिए।

संघर्ष समितिका तर्फबाट अध्यक्ष एवं चुम्लुङ धरानका अध्यक्ष तीर्थ मादेम्बा, प्रवक्ता अमित थेबे, सदस्य कृष्ण फोम्बो, चुम्लुङ सदस्य राजेश लिम्बु, बागदल लिम्बुलगायत सहभागी थिए।

संघर्ष समितिका सात बुँदे अडान

संवादमा संघर्ष समितिले विजयपुर दरबार परिसरमा उत्पन्न विवाद समाधानका लागि किरायाले आधिकारिक रूपमा वार्ता समिति गठन गरी स्थानीय सरकारको रोहवरमा संघर्ष समितिसँग निष्कर्षमा पुग्ने गरी वार्ता गर्नुपर्ने माग दोहोर्‍याएको छ। साथै, संघर्ष समितिले गत असार २८ गते सार्वजनिक गरेको विजयपुर दरबार परिसरसम्बन्धी श्वेतपत्रमाथि किरायाले ठोस प्रतिक्रिया दिनुपर्नेमा जोड दिएको थियो।

संघर्ष समितिले वार्ता अवधिभर विजयपुर दरबार परिसरमा कुनै पनि नयाँ संरचना निर्माण गर्ने वा विद्यमान संरचनामा थपघट गर्ने कार्य रोक्नुपर्ने मागसमेत राखेको छ।

त्यस्तै, साउन ११ गते सेन्ट्री पोस्टनजिक गाडिएको चिन्डो ढलेको अवस्थामा फेला परेको विषयमा सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरिएको छ। कुनै पनि बहानामा चिन्डो पुनःस्थापना गर्ने प्रयास गरिएमा त्यसले समुदायबीच अन्त्यहीन द्वन्द्व निम्त्याउन सक्ने भन्दै संघर्ष समितिले सचेत गराएको छ।

पाँच चरणमा संरक्षण परियोजना अघि बढाउन माग

विजयपुर दरबार परिसरको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व संरक्षण गर्न भौगोलिक सीमाङ्कन, नक्साङ्कन, सूचीकरण, अभिलेखीकरण, उत्खनन र पुनर्निर्माणसहित बृहत् संरक्षण परियोजना अघि बढाउनुपर्ने संघर्ष समितिको माग छ।

समितिले विजयपुर दरबार परिसर याक्थुङ लिम्बु समुदाय र लिम्बुवानको सांस्कृतिक–ऐतिहासिक भावना तथा वंशाणुगत विरासतसँग जोडिएको विषय भएकाले यसलाई प्रतिष्ठाको मात्र नभई इतिहास र पहिचानको सवालका रूपमा लिनुपर्ने बताएको छ।

समितिका अनुसार विजयपुरसँगको अपनत्व दस्तावेज, तथ्य, तथ्यांक, प्रमाण र तर्कका आधारमा पुष्टि गर्न आफूहरू तयार रहेको धारणा संवादमा राखिएको थियो।

त्यसैगरी विजयपुर दरबार परिसरलाई स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले सम्पदाका रूपमा स्वीकार गरी आवश्यक नीति तथा कार्यक्रममार्फत संरक्षणका लागि बजेट विनियोजन गर्नुपर्ने मागसमेत अघि सारिएको छ।

‘विजयपुर सबैको सम्पत्ति, इतिहास याक्थुङ समुदायको’

संघर्ष समितिले विजयपुर सबै समुदाय, भाषी, क्षेत्र, नेपाली नागरिक तथा विश्वकै साझा सम्पत्ति भए पनि त्यससँग जोडिएको इतिहास याक्थुङ लिम्बु समुदायको रहेको दाबी गरेको छ।

अन्य समुदायबाट विजयपुरको ऐतिहासिक पहिचान तथा अपनत्वमाथि अतिक्रमण भएको महसुस भएकाले आफूहरूको आवाज बलियो रूपमा उठेको समितिको भनाइ छ।

प्रवक्ता अमित थेबेले जिल्ला प्रशासन कार्यालयले केही बुँदामा सहमति गरी हस्ताक्षर गरेर समस्या समाधानतर्फ अघि बढ्न आग्रह गरेको भए पनि समुदायको इतिहास र पहिचान कुनै पनि हालतमा संकटमा पार्न नहुने निष्कर्षमा पुगेपछि आफूहरू संवादस्थलबाट बाहिरिएको जानकारी दिए।

उनका अनुसार विजयपुर दरबार परिसरको संरक्षण, ऐतिहासिकता र पहिचानको विषयमा संघर्ष समिति आफ्नो अडानबाट पछि हटेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित