धरान, भदौ ७ गते। होप धरानको आयोजनामा सञ्चालित ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल–२’ को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ। धरान–७ स्थित सिद्धि नेवा परिश्रतमा आयोजित राउन्डमा सिनियर र जुनियर समूहका गरी ४० जना बालबालिकाले सहभागिता जनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि एन–प्याब्सन धरानका अध्यक्ष भगत लिम्बु रहेका थिए। सहभागी बालबालिकाले तीन मिनेटको समयभित्र गायन, नृत्य, भाषण, चित्रकला लगायत विभिन्न विधामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
कार्यक्रमको अध्यक्षता होप धरानका अध्यक्ष निश्चल पलिले गरेका थिए। उनले प्रतियोगिताले बालबालिकामा लुकेको प्रतिभा पहिचान गर्नुका साथै उनीहरूको आत्मविश्वास र सिर्जनशीलता अभिवृद्धिमा सहयोग पुग्ने बताए। उनले प्रतियोगितामा सहभागी बालबालिका, निर्णायक, अभिभावक तथा उपस्थित सबैलाई धन्यवादसमेत दिए।
ट्यालेन्ट राउन्डको निर्णायकमा रंगकर्मी अम्बिका दवाडी, नृत्य निर्देशक तृष्णा राई, मिस स्टेट २०१९ की उपविजेता ज्योति झा, अभिनेता, निर्देशक तथा निर्माता दिनेश कोइराला र राष्ट्रिय गायिका आस्था विश्वकर्म रहेका थिए। कार्यक्रमको सञ्चालन युजिना मगरले गरेकी थिइन्।
आयोजकका अनुसार प्रतियोगिताको फाइनल कार्यक्रम भदौ २० गते धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशहरा सभाहलमा आयोजना हुनेछ।
सामाजिक सेवासँग जोडिएको प्रतियोगिता
होप धरानले प्रतियोगितालाई प्रतिभा तथा सौन्दर्य प्रदर्शनमा मात्र सीमित नराखी सामाजिक सेवासँग समेत जोडेको जनाएको छ। प्रतियोगिताबाट प्राप्त हुने सम्पूर्ण मुनाफा सामाजिक कार्यमा खर्च गरिने आयोजकको भनाइ छ।
विशेषगरी धरानका पाँच वटा आधारभूत विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री, विद्यालय झोला, जुत्ता तथा अन्य आवश्यक सामग्री वितरण गर्ने योजना रहेको आयोजकले जनाएको छ।
१२ जना विजेता छनोट हुने
प्रतियोगितामा विभिन्न विधाबाट १२ जना विजेता छनोट गरिनेछ। आयोजकका अनुसार करिब १ लाख ४८ हजार रुपैयाँ बराबरको नगद पुरस्कार प्रदान गरिनेछ।
त्यस्तै, सबै सहभागीलाई विभिन्न सब–टाइटल अवार्ड प्रदान गरिने तथा सहभागी बालबालिकाका लागि करिब २ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराइने जनाइएको छ। प्रतियोगिताका मुख्य विजेता एक बालक र एक बालिकालाई सिक्किम भ्रमण प्याकेजसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
होप धरानका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य बालबालिकाको क्षमता, आत्मविश्वास र सिर्जनशीलता विकास गर्नुका साथै उनीहरूलाई सामाजिक सेवाप्रति समेत जोड्नु हो। ट्यालेन्ट राउन्डमा सहभागी बालबालिकाले प्रस्तुत गरेका विविध प्रतिभाले आगामी फाइनललाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउने अपेक्षा गरिएको छ। तस्बिर :गोपाल पौडेल































Discussion about this post