मलाई विश्वास गर्ने र मेरो यात्रामा साथ दिने उपयुक्त व्यक्ति भेटिएमा सम्बन्धमा जोडिन धेरै समय लाग्दैन – गायक कन्चन थलङ (भिडियो सहित )

 

गायक कञ्चन थलङसँग विशेष कुराकानी: धरानको ज्येष्ठ नागरिक पार्कदेखि सांगीतिक यात्रासम्म

धरानका गायक तथा ‘चिसो चिसो छ मौसम’ गीतका सर्जक कञ्चन थलङसँग धरानस्थित श्रम संस्कृति पार्कअन्तर्गतको निर्माणाधीन ज्येष्ठ नागरिक पार्कमा भेटघाटका क्रममा गरिएको कुराकानीलाई प्रश्नोत्तर शैलीमा प्रस्तुत गरिएको छ। कुराकानीमा उहाँले पार्कको सुन्दरता, धरानको सांगीतिक क्षेत्र, हर्क साम्पाङका गीत, आफ्नो सांगीतिक यात्रा, आगामी योजना र व्यक्तिगत जीवनबारे विचार व्यक्त गर्नुभएको छ।

प्रश्न १: कञ्चनजी, श्रम संस्कृति पार्कअन्तर्गतको ज्येष्ठ नागरिक पार्कमा पहिलोपटक आउँदा कस्तो महसुस गर्नुभयो?

कञ्चन थलङ: यो पार्क निर्माणाधीन अवस्थामै रहेछ। मैले सामाजिक सञ्जालमा यहाँको एउटा तस्बिर र भिडियो देखेको थिएँ, जुन मेरो मनमा बसेको थियो। त्यसपछि यहाँ आउने इच्छा जाग्यो। धरान आइपुगेपछि निर्माण पूरा नहुँदै पनि यहाँ आएँ।

यहाँ खोलाबाट पानी ल्याएर बगाइएको रहेछ। साना-साना संरचनासँगै प्रकृतिलाई संरक्षण गर्ने प्रयास गरिएको देख्दा राम्रो लाग्यो। ज्येष्ठ नागरिकले शान्त वातावरणमा समय बिताउन पाउने गरी यस्तो ठाउँको परिकल्पना गर्नु निकै राम्रो हो। यहाँका रंगीबिरंगी माछा र प्राकृतिक वातावरणले पनि मन आनन्दित बनायो।

प्रश्न २: तपाईं काठमाडौँमा बस्नुहुन्छ। धरान फर्किएपछि यो पार्क घुम्ने उत्सुकता कत्तिको थियो?

कञ्चन थलङ: म धरान नआएको करिब तीन महिनाजति भएको थियो। काठमाडौँमा हुँदा पनि यहाँका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा देखिरहेको थिएँ। ती सामग्रीले मलाई यहाँ आउन प्रेरित गर्‍यो। धरान आएपछि पार्क हेर्न निकै उत्सुक थिएँ।

प्रश्न ३: काठमाडौँमा बसेर संगीत क्षेत्रमा काम गर्दा ‘मोफसल’ भन्ने सोचले प्रभाव पार्छ कि पार्दैन?

कञ्चन थलङ: पहिले प्रविधिको सीमितताका कारण काठमाडौँबाहिर बसेर काम गर्दा केही कठिनाइ हुन्थे। तर अहिले प्रविधिले धेरै सहज बनाएको छ। नेटवर्कको सुविधा भएको ठाउँबाटै काठमाडौँका स्टुडियोसँग जोडिएर काम गर्न सकिन्छ।

मैले पनि धरानमै बसेर काठमाडौँमा संगीतसम्बन्धी काम गरेको छु। ‘फूलहरू मग’ गीतमा गायिका मेलिना राईको स्वर र सिर्जना निङ्लेकुको अभिनय रहेको छ। त्यस गीतका लागि मैले धरानमै बसेर एरेन्जर टेकेन्द्र याक्सोसँगको सहकार्यमा डमी भोकल दिएको थिएँ।

धरानका सविन दाइ, पूर्ण राई, जोन राईलगायत धेरै कलाकारले यहीँलाई आफ्नो कर्मथलो बनाएर काम गरिरहनुभएको छ। त्यसैले अहिले ‘मोफसल’ भन्ने भाष्य विस्तारै परिवर्तन हुँदै गएको छ। धरानमा भएका राम्रा कामलाई अझै प्रचारप्रसार गर्न सके यहाँको पहिचान थप बलियो हुन्छ।

प्रश्न ४: तपाईंका गीतहरूमा प्रकृति र मायाका भावहरू जोडिएका हुन्छन्। यसलाई कसरी लिनुहुन्छ?

कञ्चन थलङ: मलाई प्रकृतिसँग जोडिएका विषयवस्तु मन पर्छन्। प्रकृति हाम्रो जीवनको आधार हो। हामीलाई बाँच्न आवश्यक हावापानी र वातावरण प्रकृतिले दिएको छ।

‘चिसो चिसो छ मौसम’ जस्तै मेरा गीतमा पनि प्रकृति र मायाका भाव जोडिएका छन्। जसले प्रकृतिलाई माया गर्नुहुन्छ, उहाँहरूसँग मेरा सिर्जनाका भावहरू पनि जोडिन्छन्।

प्रश्न ५: तपाईंले भर्खरै आफ्नो नयाँ गीत पनि सुनाउनुभयो। त्यस गीतबारे केही बताइदिनुहोस् न।

कञ्चन थलङ: मेरो अघिल्लो गीत ‘चिसो चिसो छ मौसम’ को भावसँग मिल्दोजुल्दो स्वाद भएको अर्को गीत पनि तयार पारेको छु। यसमा पनि चिसो हावा, माया र प्रकृतिसँग जोडिएका भाव छन्।

गीतका केही शब्द यसप्रकार छन्:

“लेकबाट चल्ने चिसो हावाले, छोयो कि छोएन मन तिम्रो। घुमाउँदै लैजाने बाढी मायाले, घुमाउँदै लैजाने बाढी मायाले।”

प्रश्न ६: तपाईंका गीतको प्रकृतिप्रेम र हर्क साम्पाङका विचारबीच पनि समानता देखिन्छ। उहाँका गीतहरू कत्तिको सुन्नुभएको छ?

कञ्चन थलङ: मैले हर्क साम्पाङका गीतहरू धेरै सुनेको छु। उहाँको राजनीतिक पहिचान स्थापित हुनुअघि नै धरानका अग्रज कलाकारहरूका गीत सुन्ने क्रममा उहाँका सिर्जनासँग पनि परिचित भएको रहेछु।

पहिले धरान केबल र स्पेसमा स्थानीय गीतहरू बज्ने गर्थे। त्यही क्रममा उहाँका गीत पनि सुन्ने मौका पाएको हुन सक्छ। पछि उहाँ धरानको मेयर बनेपछि उहाँको पुरानो एल्बमको तस्बिर देख्दा पहिले सुनेका गीतसँग सम्बन्ध जोड्न सकेँ।

प्रश्न ७: हर्क साम्पाङको गायनभन्दा उहाँका गीतका शब्द र भावनाले बढी प्रभाव पार्छन् भन्ने सुनिन्छ। तपाईंको विचारमा उहाँको सांगीतिक पक्ष कस्तो छ?

कञ्चन थलङ: यो व्यक्तिगत रुचिको विषय पनि हो। हरेक मानिसको स्वरको आफ्नै विशेषता हुन्छ। कसैलाई मीठो स्वर मन पर्छ, कसैलाई खस्रो स्वर मन पर्छ। त्यसैले अरूको स्वरको नक्कल गर्नुभन्दा आफ्नै स्वरको विशेषता पहिचान गरेर सिर्जना अघि बढाउनु राम्रो हुन्छ।

हर्क साम्पाङको ‘देश आफैँ बन्दैन, गाली गर्दै अरूलाई’ भन्ने गीत मलाई मन पर्छ। त्यसको भावनाले छुन्छ। उहाँका सबै शब्द मलाई कण्ठ छैनन्, त्यसैले बिगारेर गाउनुभन्दा आफूलाई मन परेको गीतको भावनालाई सम्मान गर्छु।

प्रश्न ८: कलाकारले अरूको नक्कल गर्नुभन्दा आफ्नै पहिचान बनाउनुपर्छ भन्न खोज्नुभएको हो?

कञ्चन थलङ: हो। हामीले अरूजस्तै बन्न खोज्नुभन्दा आफूभित्र भएको राम्रो पक्षलाई अगाडि ल्याउनुपर्छ। आफ्नो कमजोरी पहिचान गरेर सुधार गर्दै जानुपर्छ। अरूको सफलता देखेर उहाँजस्तै बन्न खोज्नुभन्दा आफ्नै विशेषता विकास गर्न सकेमा आफ्नो क्षेत्रमा अगाडि बढ्न सकिन्छ भन्ने लाग्छ।

प्रश्न ९: तपाईंको सांगीतिक यात्रा अहिले कहाँ पुगेको छ? दशैँपछि के-कस्ता योजना छन्?

कञ्चन थलङ: यो वर्ष खोटाङ र तेह्रथुममा कार्यक्रमहरू भएका थिए। म युके टुरमा रहेका बेला मेरी फुपूको निधन भएको थियो। उहाँको सम्झनामा चौतारा तथा फलैँचा निर्माणलगायत पारिवारिक काम पनि छन्।

यसपटक ताप्लेजुङमा पारिवारिक कार्यक्रम भएकाले तेह्रथुमको एउटा कार्यक्रम केही समयका लागि पछि सारेको छु। अब केही कार्यक्रमपछि फेरि पूर्वका विभिन्न ठाउँमा कार्यक्रममा सहभागी हुने योजना छ। मंसिर लागेपछि पुनः सांगीतिक कार्यक्रममा सक्रिय हुने सम्भावना छ।

धेरै वर्षदेखि दशैँको बिदा परिवारसँग राम्ररी बिताउन पाएको थिइनँ। यसपटक आमा-बुवा, काका-काकी, दाजुभाउजू, दिदीबहिनीलगायत परिवारसँग समय बिताउन चाहन्छु।

प्रश्न १०: तपाईंका चर्चित गीतमध्ये दर्शकलाई मन पर्ने ‘चिसो चिसो छ मौसम’ का केही शब्द सुनाइदिनुहोस् न।

कञ्चन थलङ: हुन्छ, यो गीतका केही शब्द सुनाउँछु।

“चिसो चिसो छ मौसम, न्यानो माया देऊ न। एक्लो एक्लो भयो मन, जुनी जुनी साथ देऊ न। चिसो चिसो छ मौसम…”

प्रश्न ११: अब व्यक्तिगत जीवनतर्फ जाऔँ। कञ्चनजी अहिले अविवाहित हुनुहुन्छ कि हुनुहुन्न?

कञ्चन थलङ: म अहिले पूर्ण रूपमा अविवाहित छु। कुनै लिभिङ टुगेदर सम्बन्धमा पनि छैन।

प्रश्न १२: विवाहका लागि परिवारबाट दबाब आउँछ कि आउँदैन?

कञ्चन थलङ: पहिले त्यस्तो कुरा दबाबजस्तो लाग्थ्यो। अहिले भने परिवारले मप्रति राखेको अपेक्षा र मायाका रूपमा लिन्छु। म उहाँहरूलाई निराश बनाउने छैन।

तर मेरो सांगीतिक करियरमा असर नपरोस् भन्ने चाहन्छु। संगीतलाई जसरी अहिले अघि बढाइरहेको छु, त्यसलाई निरन्तरता दिन चाहन्छु। मलाई विश्वास गर्ने र मेरो यात्रामा साथ दिने उपयुक्त व्यक्ति भेटिएमा सम्बन्धमा जोडिन धेरै समय लाग्दैन।

प्रश्न १३: अन्त्यमा, धरान र यहाँका दर्शकलाई के भन्न चाहनुहुन्छ?

कञ्चन थलङ: धरान मलाई अत्यन्तै मन पर्ने ठाउँ हो। कामका कारण काठमाडौँमा बस्नुपरे पनि फुर्सद हुनेबित्तिकै धरान आउन मन लाग्छ। यहाँ आउँदा दर्शक र शुभचिन्तकको माया पाउँछु, जसले मलाई खुसी बनाउँछ।

धरान प्राकृतिक रूपमा सुन्दर छ। यहाँ ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्त्व बोकेका धेरै ठाउँ छन्। अहिले पनि नयाँ संरचनाहरू निर्माण भइरहेका छन्। त्यसैले धरानलाई टाढाबाट हेरेर मात्र नबस्नुस्, यहाँ घुम्न आउनुस्।

विशेषगरी धरानलाई माया गरिदिनुहोस्, यहाँका राम्रा पक्षलाई चिनाइदिनुहोस् र स्थानीय कला-संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा साथ दिनुहोस् भन्न चाहन्छु।

प्रश्न: हाम्रो मिडियालाई समय दिनुभएकोमा धन्यवाद।

कञ्चन थलङ: मलाई आफ्नो कुरा राख्ने अवसर दिनुभएकोमा तपाईंहरूलाई पनि धेरै-धेरै धन्यवाद।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित