संखुवासभा — माथिल्लो अरुण उपत्यकास्थित भोटखोला गाउँपालिका–२, लिङ्गममा सञ्चालन गरिएको “लिङ्गम खानेपानी योजना” तथा सामग्री हस्तान्तरण कार्यक्रम २०८२ माघ २४ गते शनिबार सम्पन्न भएको छ।
विगत धेरै वर्षदेखि समुदायले भोग्दै आएको खानेपानी समस्याको दीर्घ समाधानका लागि कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज नेपाल (KAAA BGN) को सहयोगमा योजना कार्यान्वयन गरिएको हो। योजना अनुसार सिम्पोक्पको काखबाट उत्पत्ति हुने चेरम मुहानको अत्यन्त चिसो तथा स्वच्छ पानी जंगल, झाडी, खोल्सा, चट्टान र पहरा छिचोल्दै पाइपलाइनमार्फत गाउँसम्म ल्याइएको कुरा अरुणोदय मावि लिङ्गमका प्रधानाध्यापक छिरिङ तेम्बा थिकेपाले जानकारी दिए ।
सूचना बोर्डमा उल्लेखित विवरण अनुसार योजना भोटखोला गाउँपालिका–२, लिङ्गममा सञ्चालन गरिएको हो। परियोजना ‘स्वास्थ्य क्षेत्र’ अन्तर्गत रहेको र निवेदकका रूपमा लाक्पा छिरिङ भोटे उल्लेख छन्। उपभोक्ता समितिका अध्यक्ष पेन नुर्पु भोटे रहेका छन्।
योजनाअन्तर्गत ३ वटा मजबुद वृहत् ट्याङ्की निर्माण गरिएको छ भने ४३ वटा उच्चस्तरीय धारा जडान गरिएको छ। साथै, श्री अरुणोदय माध्यमिक विद्यालयको छात्रावासमा १ कोठे २ वटा आधुनिक शौचालय निर्माण, विद्यालय परिसरमा ५ टुटी भएको धारा जडान, झ्यम्बे मेङ्गाङ क्लिनिक र अरुण टप बोर्डिङ स्कुलमा सार्वजनिक धारा निर्माण गरिएको जनाइएको छ। परियोजनाले २८६ जना लाभान्वित हुने जनाएको छ ।
योजना निर्माणअन्तर्गत इन्टेक, फिल्टर ट्याङ्की, वितरण च्याम्बर, रिजर्भ ट्याङ्की, फिल्टर गार्ड धारालगायत संरचना निर्माण गरिएको र करिब ५,०१० मिटर पाइपलाइन जडान गरिएको बोर्डमा उल्लेख छ। आयोजनाको कुल लागत करिब रु. ८७ लाख २६ हजार ३३३ रुपैयाँ रहेको तथा उपभोक्ताको जनश्रमदान करिब रु. ३० हजार बराबर रहेको तथ्यांकमा उल्लेख गरिएको छ।
निर्माण कार्य २०८२ कार्तिक १४ गते सुरु गरिएको र २०८२ माघ २३ गते सम्पन्न भएको जनाइएको छ।
कार्यक्रममा KAAA BGN टिम, प्रोजेक्ट म्यानेजर देवान, सुपरभाइजर केबी, हेड मिस्त्री घले, निर्माण समितिका पदाधिकारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
लिङ्गमवासी तथा विद्यालय परिवारको तर्फबाट सहयोगी संस्था र संलग्न सम्पूर्ण व्यक्तिलाई धन्यवाद तथा आभार व्यक्त गरिएको छ।

























Discussion about this post