लिम्बुवानकाे फेदेनमा हुने सभाहरूले सङ्केतहरू दिइरहन्छन् । इसाकाे छैटौं शताब्दीमा आठ हाङ याक्थुङविरुद्ध दश याक्थुङले गणतान्त्रिक विद्रोह गरेको इतिहास छ । माटाेकाे नाम नै परिवर्तन गरेर लिम्बुवान राखेको कुरा इतिहासकारहरू गर्छन् । याे क्रान्ति संसारको सबैभन्दा पुरानो सङ्घीय विद्रोह पनि हाे ।
००७ सालपछि काङ्ग्रेसीहरूले पनि पान्थर घेरे । भूविक्रम नेम्वाङ, दाेर्जे थिङकाे बलमा फेदेनमा सभाहरू गरे । कम्युनिस्ट आए । मदन भण्डारीलाई सघाउन उसैगरी सभाहरू भए । गणतन्त्रपछि माओवादी सुप्रिमाे प्रचण्ड आए । फेदेन हल्लाए । सङ्घीयता आएपछि उपेन्द्र यादवले पनि दमदार भाषण गरे । ०६३ र ०६५ मै आधुनिक चरणको लिम्बुवानका मसिहाहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, स्व. कमल छाराहाङ आठपहरिया, मिसेकहाङ थाम्सुहाङहरूसम्मले फेदेनलाई जुरुक्क उठाए ।
पान्थर र छेउछाउका गाउँहरूबाट मानिसहरू ओहाेरदाेहाेर गरिरहने फेदेन मेची लाेकमार्ग, मध्यपहाडी लाेकमार्गहुँदै पछिल्लो समय तमाेर करिडोरकाे आर्क पनि बनेको छ । यसकारण, मान्छेहरूको आवतजावत, सामान-वस्तुहरूकाे ढुवानी मात्रै हाेइन विचारकाे विनिमय पनि भइरहन्छ ।
फेदेन र पान्थरका जनताहरूलाई नयाँ मर्चा चाख्ने जाँगर आएको छ । माटाे छुवाएर सङ्गठन बनाउन काेसिस गरिरहेका धरानका मेयर हर्क साम्पाङ राईले यतिबेला राम्रै मान्छेहरू भेलाएर सभा गरेका छन् । श्रम सँस्कृति पार्टी (एसएसपी) मा पहिचानकाे आन्दोलनमा लामाे समय कुदिरहेका माओवादी र मञ्चका कार्यकर्ताहरू पनि प्रवेश गरेपछि ती दलहरू झस्किएका छन् ।
के साँच्चै अब हुने प्रतिनिधिसभाकाे चुनावमा ‘रूख’ र ‘सूर्य’ साेत्तर हुन्छन् ? के साँच्चै भर्खर आकस्मिक रूपमा मिलेका ‘पाँच कुने तारा’ ले पनि दाँतबाट पसिना चुहाउनुपर्छ ?
‘घण्टी’, ‘गाई’ र जेन-जीहरूकाे समूहले पहाड, मध्यपहाड, हिमाल, भित्री तराईमा हुने राजनीतिक सभा र समीकरणहरूलाई कसरी नियालिरहेका छन् हाेला ?
जवाफ केही महिनामा आउने नै छ ।





















Discussion about this post