धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) ले अक्सिजन प्लान्ट पुनः सञ्चालन, एमआरआई मेसिन खरिद, एमसीएच (MCH) भवन सञ्चालन, सीबीसीटी (CBCT) सेवा विस्तार तथा ओपीडी सेवाको व्यवस्थापन सुधारलगायतका महत्वपूर्ण कामहरू अघि बढाएको जनाएको छ।
प्रतिष्ठानका अनुसार हाल बिग्रिएको अक्सिजन प्लान्टको मर्मतसम्भार तीव्र रूपमा भइरहेको छ। प्लान्ट सञ्चालनका लागि आवश्यक २०० क्षमताको UPS खरिद प्रक्रिया टेन्डरमार्फत अन्तिम चरणमा पुगेको छ। अक्सिजन आपूर्तिकर्ता कम्पनीसँग देखिएको कानुनी विवाद पनि अदालतको सुझावअनुसार मध्यस्थता (Arbitration) मार्फत समाधान गर्ने प्रक्रिया अघि बढाइएको छ।
एमआरआई मेसिन खरिदका लागि रेडियोलोजी विभागले आवश्यक प्राविधिक मापदण्ड (Requirement तथा Specification) तयार गरिसकेको छ। विभिन्न आधिकारिक आपूर्तिकर्तासँग प्रारम्भिक छलफल र प्रस्तुतीकरण सम्पन्न भइसकेको तथा अब टेन्डर आह्वान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनाएको छ।
त्यसैगरी, लामो समयदेखि सञ्चालनमा आउन नसकेको एमसीएच भवन सञ्चालनका लागि आवश्यक सरकारी प्रक्रिया अघि बढेको छ। शिक्षा, स्वास्थ्य तथा गृह मन्त्रालयका मन्त्रीहरूले समेत भवनको निरीक्षण गरी शीघ्र सञ्चालनका लागि निर्देशन दिएको जनाइएको छ।
प्रतिष्ठानले दन्त सेवाअन्तर्गत अत्याधुनिक Carestream CS 9600 Full FOV Cone Beam Computed Tomography (CBCT) मेसिन जडान गरी सेवा सञ्चालनमा ल्याएको छ। यस प्रविधिबाट उच्च गुणस्तरको थ्रीडी (3D) डिजिटल इमेजिङ उपलब्ध हुने, दाँत, नरम तन्तु, स्नायु प्रणाली तथा हड्डीको सूक्ष्म अध्ययन गर्न सहज हुने र कम विकिरणमा परीक्षण गर्न सकिने उल्लेख गरिएको छ।
सेवा प्रवाहलाई थप सहज बनाउन स्वास्थ्य बीमा, जनरल ओपीडी तथा विशेष सेवासम्बन्धी दर्ता र बिलिङ काउन्टरहरूको पुनः व्यवस्थापन गरिएको छ। बीमा सेवाका लागि छुट्टै दर्ता तथा बिलिङ काउन्टर थपिएको तथा विभिन्न भवनबाट सञ्चालन हुने सेवाहरूलाई व्यवस्थित गरी बिरामीको प्रतीक्षा समय घटाउने लक्ष्य राखिएको प्रतिष्ठानले जनाएको छ।
यस्तै, बिरामीलाई आवश्यक स्वास्थ्य संस्थामा समयमै पठाउने, अनावश्यक रिफरल घटाउने तथा उपचार सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले अस्पतालस्तरीय रेफरल समन्वय समिति समेत गठन गरिएको जानकारी दिइएको छ।






















Discussion about this post