स्वास्थ्य बीमा सेवामा कडाइ गर्दै बीपी प्रतिष्ठान, OPD टिकटदेखि बिलिङसम्म नयाँ व्यवस्था

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रदान गरिने OPD सेवाको अभिलेखीकरण, सेवा प्रवाह तथा दाबी व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको छ।

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. इन्द्र कुमार लिम्बूद्वारा जारी सूचना/परिपत्रमा स्वास्थ्य बीमा दाबी समीक्षा तथा मूल्याङ्कन कार्यविधि, २०७८ (पहिलो संशोधन, २०८१) बमोजिम स्वास्थ्य बीमाअन्तर्गतका OPD सेवामा आवश्यक प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सम्बन्धित विभागीय प्रमुख, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको छ।

परिपत्रअनुसार स्वास्थ्य बीमाअन्तर्गत OPD टिकटको Registration/Re-registration तोकिएको कार्यालय समयभित्र मात्र गर्न सकिनेछ। एकपटक दर्ता गरिएको OPD टिकटको मान्य अवधि सात दिन रहने र सो अवधिभित्र एउटै विभागमा Follow-up सेवा लिन पुनः OPD दर्ता गर्न नपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, OPD टिकटको मान्य अवधिभित्र अर्को विभागमा चिकित्सकीय परामर्श आवश्यक परेमा पुनः OPD दर्ता गर्नुपर्ने छैन। तर उपचाररत चिकित्सकले OPD Card मा ‘Referred to … OPD’ उल्लेख गरी Referral गर्नुका साथै Referral को स्पष्ट चिकित्सकीय कारणसमेत खुलाउनुपर्नेछ।

सात दिनको OPD टिकटको अवधि समाप्त भएपछि थप सेवा लिन भने पुनः OPD दर्ता गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ। उपचाररत चिकित्सकको Referral बिना बीमितले आफ्नो इच्छाअनुसार अर्को विभागको OPD सेवा लिन चाहेमा भने पुनः OPD दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

बिलिङअघि OPD Card स्क्यान अनिवार्य
प्रतिष्ठानले स्वास्थ्य बीमाअन्तर्गत Laboratory, Radiological, औषधि वा अन्य कुनै सेवा लिनुअघि OPD Card तथा आवश्यक कागजातसहित तोकिएको काउन्टरमा उपस्थित भई Scanning गराउनुपर्ने व्यवस्था गरेको छ।

Scanning प्रक्रिया पूरा भएपछि सम्बन्धित काउन्टरका कर्मचारीले OPD Card मा ‘SCANNED’ छाप अनिवार्य रूपमा लगाई प्रमाणित गर्नुपर्नेछ।

चिकित्सकको विवरण र उपचार योजना स्पष्ट हुनुपर्ने
परिपत्रले चिकित्सकहरूलाई OPD Card मा बिरामीको Diagnosis, Clinical Findings, Treatment Plan, आवश्यक Laboratory तथा Radiological Investigation र Procedure/Operation को नाम स्पष्ट रूपमा उल्लेख गर्न निर्देशन दिएको छ।

Billing Code मात्र उल्लेख गरिएको अवस्थामा त्यसलाई मान्य नमानिने जनाइएको छ। सिफारिस गरिएका औषधि तथा औषधिजन्य सामग्रीको विवरण पनि स्पष्ट, पूर्ण र पढ्न सकिने गरी लेख्नुपर्नेछ।

त्यसैगरी उपचाररत चिकित्सकको नाम, नेपाल मेडिकल काउन्सिल (NMC) दर्ता नम्बर तथा हस्ताक्षर वा आधिकारिक छाप अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रक्रिया नपुगे बीमा दाबी अस्वीकृत हुन सक्ने
प्रतिष्ठानले तोकिएका अनिवार्य प्रक्रिया, आवश्यक विवरण तथा निर्धारित सर्तहरू पूर्ण नभएको अवस्थामा स्वास्थ्य बीमाअन्तर्गत सम्बन्धित सेवा, परीक्षण, औषधि वा अन्य सेवाको Scanning/Billing प्रक्रिया अगाडि बढ्न नसक्ने जनाएको छ।

यस्तो अवस्थामा स्वास्थ्य बीमा दाबी समीक्षा तथा मूल्याङ्कनका क्रममा सम्बन्धित सेवा अस्वीकृत वा न्यून मूल्याङ्कन हुन सक्ने भन्दै प्रतिष्ठानले सम्बन्धित सबैलाई सचेत गराएको छ।

परिपत्रमा उल्लेखित व्यवस्था जारी भएको मितिदेखि नै लागू हुने जनाइएको छ।

Screenshot
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित