धरान, भदौ ७ गते। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा बिरामी तथा आफन्तमाथि चिकित्सकबाट अभद्र तथा धम्कीपूर्ण व्यवहार भएको आरोप लगाउँदै The Council of Gen-Z Sunsari ले आपत्ति जनाएको छ।
संस्थाका प्रवक्ता प्रज्वल बान्तावाले जारी गरेको विज्ञप्तिअनुसार शुक्रबार राति करिब ११ बजे बिरामीको अवस्था तथा उपचार व्यवस्थापनबारे बुझ्न सुनसरीका Gen-Z संयोजक नवीन राईसहितको टोली प्रतिष्ठान पुगेको थियो।
टोलीले बिरामी, आफन्त तथा अस्पताल व्यवस्थापनसँग जानकारी लिने क्रममा केही चिकित्सकबाट बिरामीका आफन्त तथा कुरुवामाथि गालीगलौज र धम्कीपूर्ण व्यवहार भएको गुनासो प्राप्त गरेको जनाएको छ। घटनाबारे बुझ्न पुगेको आफ्नो टोलीसँग समेत केही चिकित्सकले अमर्यादित भाषा प्रयोग गरेको र प्रहरीमार्फत नियन्त्रणमा लिन दबाब दिएको आरोप संस्थाले लगाएको छ।
Gen-Z Sunsari ले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषी देखिए कारबाही गर्न तथा सम्बन्धित पक्षबाट स्पष्टिकरण र क्षमायाचना गराउन माग गरेको छ।
संस्थाले विषय स्वास्थ्य मन्त्रालयसमक्ष पेश गर्ने र नेपाल मेडिकल काउन्सिलमा समेत उजुरी दिने प्रक्रिया अघि बढाइएको जनाएको छ। माग सम्बोधन नभए शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियामार्फत थप दबाबमूलक कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिइएको छ।
प्रतिष्ठान प्रशासन तथा आरोपित चिकित्सक पक्षको प्रतिक्रिया भने विज्ञप्तिमा समेटिएको छैन।




















Discussion about this post