बालबालिकाको उपचार सेवा र PICU विस्तारको माग गर्दै BPKIHS लाई ज्ञापनपत्र

धरान । सर्पदंशका कारण एक बालिकाको दुःखद निधन भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै वडा बाल सञ्जाल, धरान–११ ले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) का अस्पताल निर्देशकसमक्ष बालबालिकाको उपचार सेवा सुधार तथा बाल सघन उपचार कक्ष (PICU) विस्तारको माग गरेको छ।

वडा बाल सञ्जालका अध्यक्ष रोजन शंकरद्वारा प्रतिष्ठानका अस्पताल निर्देशकलाई बुझाइएको ज्ञापनपत्रमा सर्पदंशपछि उपचारका लागि प्रतिष्ठान ल्याइएकी बालिकालाई PICU मा शय्या सीमित तथा भरिभराउ भएका कारण अन्यत्र पठाइएको जानकारीप्रति चिन्ता व्यक्त गरिएको छ।

ज्ञापनपत्रमा बालबालिकाको गम्भीर अवस्थामा समयमै आवश्यक उपचार उपलब्ध गराउन पर्याप्त चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको व्यवस्था गर्न माग गरिएको छ। साथै, PICU को शय्या तथा उपचार क्षमता आवश्यकताअनुसार विस्तार गरी सेवा निरन्तर सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ।

सर्पदंश, श्वासप्रश्वासमा समस्या तथा अन्य गम्भीर अवस्थाका बालबालिकाका लागि आकस्मिक सेवा, आवश्यक उपकरण र औषधिको पर्याप्त व्यवस्था गर्नुपर्नेमा पनि सञ्जालले जोड दिएको छ।

त्यसैगरी, अन्य अस्पतालबाट गम्भीर अवस्थामा रिफर भएर आउने बालबालिकाका लागि समन्वय, प्राथमिकता निर्धारण तथा उपचार प्रक्रिया सहज र छरितो बनाउन माग गरिएको छ। आकस्मिक कक्षको छेउमा थप मेडिकल सेवा तथा उपचार कक्षको व्यवस्था गर्न पनि ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ।

बालबालिकाको आकस्मिक उपचार सेवामा देखिएका समस्या, जनशक्ति अभाव र PICU को क्षमताबारे समीक्षा गरी सुधारको कार्ययोजना बनाउनुपर्ने तथा सम्बन्धित निकायसँग समन्वय गरी दीर्घकालीन समाधानका उपाय अघि बढाउनुपर्ने सञ्जालको माग छ।

ज्ञापनपत्रमा बालबालिकाको जीवन रक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न उल्लिखित विषयमा प्रतिष्ठानले आवश्यक पहल र सुधारका काम अघि बढाउने अपेक्षा गरिएको छ।

ज्ञापनपत्रको बोधार्थ प्रतिष्ठानका उपकुलपतिलाई समेत दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित