बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिरका औषधि पसलमा संयुक्त अनुगमन

धरान, साउन ४। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर सञ्चालनमा रहेका औषधि पसलहरूको सोमबार संयुक्त अनुगमन गरिएको छ। उपभोक्ताले गुणस्तरीय, सुरक्षित तथा कानुनबमोजिम औषधि सेवा प्राप्त गरिरहेका छन् वा छैनन् भन्ने विषयलाई केन्द्रमा राख्दै सम्बन्धित निकायहरूले अनुगमन गरेका हुन्।

सुनसरीको धरान–१८ स्थित प्रतिष्ठान आसपासका औषधि पसलमा दिउँसो १ बजेदेखि सुरु गरिएको अनुगमनमा औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत प्रकाश भण्डारी, द काउन्सिल अफ जेन्जी सुनसरीका संयोजक नवीन राई, नेपाल पत्रकार महासंघ सुनसरीका जिल्ला अध्यक्ष सन्तोष काफ्ले तथा इलाका प्रशासन कार्यालय धरानको पाँच सदस्यीय टोली सहभागी रहेको थियो।

अनुगमन टोलीले औषधि पसलहरूको दर्ता तथा नवीकरणका कागजात, फार्मासिस्टको नियमित उपस्थितिको अवस्था, औषधिको खरिद–बिक्रीसम्बन्धी अभिलेख, भण्डारण प्रणाली, म्याद, लेबलिङ, तापक्रम व्यवस्थापन तथा प्रचलित कानुनी मापदण्डको पालना भए–नभएको विषयमा विस्तृत निरीक्षण गरेको जनाएको छ।

त्यसैगरी, चिकित्सकको प्रिस्क्रिप्सनमा मात्र बिक्री गर्नुपर्ने औषधिको बिक्री प्रक्रिया, अभिलेख व्यवस्थापन, उपभोक्तालाई प्रदान गरिने सेवाको गुणस्तर तथा औषधि व्यवसाय सञ्चालनका लागि आवश्यक कानुनी प्रावधानहरूको समेत अध्ययन गरिएको बताइएको छ।

अनुगमनका क्रममा टोलीले औषधि व्यवसायीहरूलाई कानुनअनुसार व्यवसाय सञ्चालन गर्न, म्याद नाघेका औषधि बिक्री नगर्न, खरिद–बिक्रीसम्बन्धी सम्पूर्ण अभिलेख व्यवस्थित राख्न तथा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा कुनै पनि प्रकारको लापरबाही नगर्न निर्देशन दिएको जनाएको छ।

सम्बन्धित निकायका अनुसार अनुगमनबाट प्राप्त तथ्य तथा कैफियतका आधारमा विस्तृत प्रतिवेदन तयार गरी प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ। साथै उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने, औषधिको गुणस्तर कायम राख्ने र औषधि व्यवसायलाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ यस्ता अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित