धरानमा सामूहिक रूपमा मनाइयो लिम्बु समुदायको मौलिक पर्व ‘सिसेक्पा तङ्नाम’

धरान, साउन १ — आदिवासी भूमिपुत्र लिम्बु समुदायले साउने सङ्क्रान्तिको अवसरमा मनाइने आफ्नो मौलिक पर्व सिसेक्पा तङ्नाम बिहीबार धरानसहित देशका विभिन्न स्थानमा श्रद्धापूर्वक मनाएका छन्। धरानमा किरात याक्थुङ चुम्लुङ भवन, धरान–१५ मा सामूहिक रूपमा पर्व मनाउँदै मौलिक नृत्य, सांस्कृतिक प्रस्तुति तथा परम्परागत विधिअनुसार पूजा–आराधना गरिएको थियो।
परम्पराअनुसार प्रत्येक परिवारले आफ्नै घरमा मनाउने यो पर्व पछिल्ला वर्षहरूमा समुदायको पहलमा सामूहिक रूपमा पनि मनाउन थालिएको हो। लिम्बु समुदायको बाक्लो बसोबास रहेका अन्य जिल्लाहरूमा समेत विविध कार्यक्रम गरी सिसेक्पा तङ्नाम मनाइएको छ।

        प्रकृति, कृषि र संस्कृतिसँग जोडिएको पर्व
सिसेक्पा तङ्नाम लिम्बु समुदायको मौलिक सांस्कृतिक पर्व हो। प्रत्येक वर्ष साउन १ गते मनाइने यस पर्वमा नयाँ पाकेका अन्न, फलफूल तथा वनस्पतिलाई हरियो बाबियोको डोरीमा उनेर घरको मूल ढोकामाथि झुन्ड्याउने परम्परा छ। यसलाई इष्टदेवप्रति सम्मान प्रकट गर्दै परिवारमा सुख, समृद्धि र सहकालको कामना गर्ने प्रतीकका रूपमा लिइन्छ।

नेपाल आदिवासी जनजाति संघ तेह्रथुमका अध्यक्ष टीआर सेनेहाङका अनुसार बिहानै खेतबारी वा वनबाट आवश्यक अन्न, फलफूल र वनस्पति संकलन गरी ल्याइन्छ र दिउँसो बाबियोको डोरीमा उनेर घरको प्रवेशद्वारमा टाँग्ने चलन रहिआएको छ।

          दुःख–पीडा हटाउने सांस्कृतिक विश्वास
यस पर्वमा परिवारका सदस्यहरू सामूहिक रूपमा परम्परागत परिकार तयार गरी भोजन गर्ने, साँझपख बन्दुक पड्काउने तथा थाल, झ्याम्टा, नाङ्लो र ढोल बजाउने चलन पनि रहेको छ। घरका बालबालिका र युवायुवतीले बुढापाकाको निर्देशनमा घरभित्र र वरिपरि घुम्दै ती सामग्री बजाएर नकारात्मक शक्ति तथा दुःख–पीडालाई घरबाट बाहिर निकाल्ने सांस्कृतिक अभ्यास गर्ने गरिन्छ।

लिम्बू भाषा तथा संस्कृति विकास केन्द्रका अध्यक्ष दिल पाक्साँवाका अनुसार यस क्रममा मातृभाषामै “सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊ, अनिकाल जाऊ, सहकाल आऊ” भन्ने कामनासहित समृद्धि र शुभफलको प्रार्थना गरिन्छ।
               

                 संरक्षणमा जुट्दै समुदाय
विभिन्न सञ्चार माध्यमले स्थानीयलाई उद्धृत गर्दै जनाएअनुसार किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका सचिव राजकुमार तेयुङले आदिमकालदेखि पूर्वी नेपालका लिम्बु समुदायले साउने सङ्क्रान्तिलाई सिसेक्पा तङ्नामका रूपमा मनाउँदै आएको बताए।

आधुनिकता, बसाइँसराइ र बदलिँदो जीवनशैलीका कारण केही मौलिक परम्परा लोप हुने चिन्ता बढिरहेका बेला पछिल्ला वर्षहरूमा लिम्बु समुदाय आफ्ना सांस्कृतिक पर्वको संरक्षण र प्रवर्द्धनमा सक्रिय बनेको छ। विभिन्न सांस्कृतिक संस्था तथा स्थानीय तहले पर्वलाई व्यवस्थित रूपमा मनाउन सहयोग गरिरहेका छन् भने केही स्थानीय तहले यस अवसरमा सार्वजनिक बिदासमेत दिन थालेका छन्।

छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाका अनुसार गाउँपालिकाले विभिन्न जातजातिका मौलिक पर्वको संरक्षण, प्रवर्द्धन तथा सांस्कृतिक कार्यक्रम सञ्चालनमा निरन्तर सहयोग गर्दै आएको छ।

सिसेक्पा तङ्नाम केवल धार्मिक पर्व मात्र नभई प्रकृति, कृषि, परिवार, समुदाय र संस्कृतिलाई एउटै सूत्रमा बाँध्ने जीवनदर्शनका रूपमा पनि चिनिन्छ। पुस्तौँदेखि चलिआएको यस परम्पराले लिम्बु समुदायको मौलिक पहिचान संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्ना भाषा, संस्कृति र परम्परासँग जोडिराख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित